चीनको दक्षिण पश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
सोमबार राति र मंगलबार बिहान गएको २ शक्तिशाली भूकम्पमा अहिलेसम्म १ सय ३४ सर्वसाधारण घाइते भएको एजेन्सीहरुले उल्लेख गरेका छन् ।
चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सोमबार राति पहिलो भूकम्प ६ रेक्टर स्केल आएको थियो । मंगलबार बिहान अर्थात् दोस्रो भूकम्प ५ दशमलव २ रेक्टरको गएको थियो ।
पहिलो भूकम्प सिचुवान प्रदेशको यिबिन सहरको २० किमि आसपास केन्द्रविन्दु भएर सोमबार राति १०:५५ मा गएको थियो । यस्तै मंगलबार बिहानको भूकम्प पनि यिबिन सहरकै १६ किमि आसपास केन्द्रविन्दु बनाएर गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
भूकम्पले करिब ४ हजार बढी सर्वसाधारण प्रभावित भएको अधिकारीहरुले जनाएका छन् । भूकम्पले सयौं संरचनामा क्षति पुगेको छ । प्रभावित क्षेत्रका सर्वसाधारणलाई सुरक्षित रहन चीन सरकारले आग्रह गरेको छ ।
- एजेन्सीहरुको सहयोगमा