बिहारमा भाइरल इन्सेफलाइटिसबाट मृत्यु हुने बालबालिकाको संख्या १ सय ३ पुगेको छ ।
भारतीय विभिन्न सञ्चारमाध्यमका अनुसार १० वर्षभन्दा कम उमेरका २ सयभन्दा बढी बालबालिकाको उपचार भइरहेको छ । अधिकांशको हाइपोग्लाइसिमिया अर्थात् रगतमा चिनीको मात्रा कम भएर मृत्यु भएको प्रदेश सरकारको दाबी छ ।
बिहार र छिमेकी राज्य उत्तर प्रदेशमा सन् १९७० को दशकको अन्त्यतिर इन्सेफ्लाइटिस पहिचान भएयता हजारौँ बालबालिकाको मृत्यु भएको छ । बिहार राज्य सरकारले सबै बिरामीको उपचार खर्च बेहोर्ने जनाएको छ । स्थानीय बासिन्दाले काँचो लिची खाँदा बालबालिको ज्यान गएको बताउँदै आएका छन् । तर, चिकित्सकहरुले भने यसको पुष्टि गरेका छैनन् ।
जुनको सुरुबाट फैलिएको भारइलबाट मुजफ्फरपुर सहर सबैभन्दा बढी प्रभावित बनेको छ । बर्खामा फैलने यो रोगले बालबालिकालाई बढी असर गर्छ । टाउको दुख्नु, बान्ता हुनु र बेहोस् हुनु यस रोगका प्रमुख लक्षण हुन् । त्यसका साथै मगजले काम नगर्ने, झाडापखाला लाग्ने तथा मुटु र मिर्गौलामा असर गर्ने हुन्छ ।
उत्तर प्रदेशमा २०१२ मा इन्सेफलाइटिसबाट ३ सय ९० बालबालिकाको मृत्यु भएको थियो । २०११ मा उत्तरी भारतमा ४ सय ६० बालबालिकाको मृत्यु भएको थियो । यस्तै २००५ मा उत्तर प्रदेशको गोरखपुरमा १ हजार बालबालिकाको मृत्यु भएको थियो ।