ब्राजिलले सोमबारदेखि नै लागू हुनेगरी चार देशका नागरिकले आफ्नो मुलुक भ्रमण गर्न भिसा नचाहिने निर्णय गरेको छ। अमेरिका, क्यानडा, जापान र अस्ट्रेलियाका नागरिकले ब्राजिल भ्रमण गर्न अब भिसा लिनुनपर्ने भएको छ।
ती देशका पर्यटकले भिसाविना ९० दिनसम्म ब्राजिल भ्रमण गर्नपाउनेछन् । त्यसका लागि म्याद बाँकी रहेको पासपोर्ट भने हुनुपर्नेछ । ९० दिनभन्दा बढी समय बस्न चाहे थप ९० दिन पनि समय थप्न सकिनेछ । यसका लागि पर्यटक संघीय प्रहरी अधिकारीकहाँ गए पुग्नेछ।
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोको गत मार्चमा भएको अमेरिका भ्रमणको ठीकअघि ब्राजिलले यस्तो घोषणा गरेको थियो।
यो घोषणापछि अस्ट्रेलिया र अमेरिकाबाट ब्राजिल आउन चाहनेकोसंख्या क्रमशः ३६ र ३१ प्रतिशतले वृद्धि भएको पाइएको थियो। ब्राजिलले बढीभन्दा बढी पर्यटक भित्र्याउन विभिन्न अध्यागमन कानुनहरुमा ठूलो परिवर्तन ल्याएको छ। सन् २०१६ को ओलम्पिककै बेला ब्राजिलले यी चार देशका नागरिकलाई भिसा चाहिने नियमलाई अस्थायी रुपमा हटाएको थियो।