भारतको तल्लो सदन लोकसभाको पहिलो अधिवेशन आज (सोमबार) देखि सुरु हुँदै छ ।
लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी अत्यधिक बहुमतसहित दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि संसदको पहिलो अधिवेशन आरम्भ हुन लागेको हो । सोमबारदेखि सुरु हुने अधिवेशन २६ जुलाईसम्म चल्नेछ । यसबीचमा बजेट पेस गर्ने पनि जनाइएको छ ।
संसद् सुरु हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री मोदीले प्रतिपक्षी दललाई सदनमा हुने संख्याको चिन्ता नलिन आग्रह गरेका छन् । उनले भने, ‘संख्या होइन, जनताको सवालमा चर्चा गरौं ।’ साथै उनले संसदमा पक्ष–विपक्षभन्दा पनि निष्पक्ष भएर काम गर्न आग्रह गरे । यसपटक संसदमा पहिलेको भन्दा धेरै काम हुने मोदीले अपेक्षासमेत गरे ।
प्रधानमन्त्री मोदीले देशहितको निर्णय लिँदा सबै दल एकजुट हुनुपर्ने बताएका छन् । संसद सुरु भएसँगै ज्येष्ठ सदस्यले अन्य सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउनेछन् । लोकसभामा अहिले ज्येष्ठ सदस्यका रुपमा वीरेन्द्रकुमारले पद तथा गोपनीयताको शपथ खुवाउनेछन् । संसद बैठकअघि प्रधानमन्त्री मोदीले सर्वदलीय बैठक पनि बोलाएका थिए ।
यो बैठकमा सदनमा विचाराधीन विधेयकहरु पारित गर्न सहयोगको माग गरेका थिए । जसमा महत्त्वपूर्ण विधेयकका रुपमा ‘तीन तलाक’ विधेयक पनि छ । भारतीय लोकसभा यसपटक अन्यभन्दा फरक देखिने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसपटकको लोकसभामा लालकृष्ण आडवाणी, सुष्मा स्वराज जस्ता हस्ती हुने छैनन् भने बीजेपी अध्यक्ष अमीत शाह, स्मृति इरानीलगाएत नयाँ अनुहार हुनेछन् ।