सधैँजसो विवादमा आइरहने पश्चिम बंगालकी मुख्यमन्त्री तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी कटुआलोचक ममता बनर्जीले फेरि एकपटक विवादित बयान दिएकी छिन् ।
उत्तर १४ परगना जिल्लाको एक र्यालीमा शुक्रबार बंगालमा बाहिरबाट आउनेले बंगाली भाषा बोल्नुपर्ने बताएकी छिन् । उनले भनिन्, ‘हामी जब दिल्ली जान्छौँ हिन्दी बोल्छौँ, जब पञ्जाब जान्छौँ पञ्जाबी बोल्नुपर्छ, जब म तमिलनाडु जान्छु तब नजाने पनि केही तमिल शब्द बोल्छु, यसरी नै बंगाल आउने सबैले बंगाली बोल्नुपर्छ ।’
पश्चिम बंगालमा चलिरहेको डाक्टरहरुको आन्दोलनलाई बाहिरका मानिसहरुले भड्काएको उनको भनाइ छ । ‘म आफैंले बिहीबार केही बाहिरका मानिसहरुले एसएसकेएम अस्पतालमा नारा लगाइरहेको देखेँको थिएँ,’ उनले भनिन् ।
तर भारतीय जनता पार्टीका महासचिव र बंगाल प्रभारी कैलाश विजयवर्गीयले भने राज्यमा डाक्टरहरु सुरक्षित नरहेको बताएको बीबीसीले उल्लेख गरेको छ ।
पश्चिम बंगालमा डाक्टरहरुमाथि भएको आक्रमणपछि विभिन्न राज्यका डाक्टरहरु हड्तालमा उत्रिएका छन् ।