केन्यामा एक पुरुष सांसद आफ्नी महिला सहकर्मीलाई थप्पड हानेको आरोपमा पक्राउ परेका छन् ।
आफ्नो निर्वाचन क्षेत्रमा बजेट नदिएको भन्दै रसिद कास्सिम नाम गरेका सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ । गेडी संसद्को बजेट समिति सदस्य छिन् ।
आक्रमणपछि खिचिएको दाबी गरिएको एउटा तस्बिरमा उनलाई रुँदै गरेको र उनको मुखमा रगत निस्केको देखिन्छ । उक्त तस्बिर सामाजिक सञ्जालमा व्यापक भयो ।
सो विषयमा पुरुष सांसदहरूले खिसीटिउरी गरेपछि महिला सांसदहरूले संसद् बहिष्कार गरेको बीबीसीले उल्लेख गरेको छ । पूर्वोत्तर केन्याबाट संसद्मा निर्वाचित कास्सिमले आफ्नो निर्वाचन क्षेत्रमा किन रकम विनियोजन नगरेको भन्दै गेडीसँग संसद्भवनस्थित गाडी रोक्ने स्थानमा झगडा गरेको बताइएको छ ।
त्यसपछि संसद्मा सो विषयमा पुरुष सांसदले महिला सहकर्मीहरूलाई होच्याएको सबिना वान्जिरु चेगेले बीबीसीलाई बताइन् ।
'हाम्रा केही पुरुष सहकर्मीले हाम्रो खिसीटिउरी गर्न थाले र यो 'थप्पड दिवस' हो भने,' उनले बताइन् । चेगेका अनुसार उनीहरूले 'महिलाको सोमत हुनुपर्ने' र 'पुरुषसँग कस्तो व्यवहार गर्ने भनेर जानेको हुनपर्ने' भनेका थिए । कास्सिमलाई पक्राउ गर्नुपर्ने मागसहित महिला सांसदहरू संसद्बाट बाहिरिएपछि आरोप लागेका सांसद पक्राउ परेका हुन् ।
'हामी सबै संसद्का सदस्य हौँ... हामी उनीहरूभन्दा कम छैनौँ,' चेगेले भनिन् । थप्पड हानेको आरोपबारे कास्सिमले कुनै प्रतिक्रिया दिएका छैनन् ।