बिहारमा ५४ बालबालिकाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार काँचो लिची खाएपछि बिहार मुजफ्फरपुरका बालबालिकाको मृत्यु भएको बताइएको छ ।
तर बिहारको स्वास्थ्य विभागका अधिकारिहरुले भने बालबालिकाहरुको मृत्युको कारण हाइपोग्लाइसिमिया (शरीरमा चिनीको मात्रा कम हुनु) बाट भएको दाबी गरेका छन् । यसको कारण मुजफ्फरपुरमा चर्को गर्मी तथा वर्षा नहुँदा भएको बताइएको छ । मुजफ्फरपुरमा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) अर्थात उच्च काम ज्वरोले मृत्यु हुने बालबालिकाको संख्या ५४ पुगेको छ ।
मुजफ्फरपुर जिल्लाको श्रीकृष्णा मेडिकल कलेज एन्ड हस्पिटलमा अहिलेसम्म 46 बालबालिकाको मृत्यु भइसकेको छ । यस्तै केजरीवाल मातृ सदन (केएमएस) मा ८ बालबालिकाको मृत्यु भइसकेको छ । बिहीबारसम्म मृत्यु हुनेको संख्या ५४ पुगेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यो वर्ष जनवरीबाट १७९ जना यही ज्वरोले ग्रसित भएको तथ्यांक छ । यसेबीच बालबालिकाको मृत्यु लिची खाएरै त भएको होइन भन्ने प्रश्न पनि उब्जिएको छ ।
मृत्युको कारण पत्ता लगाउन केन्द्रीय सरकारको ७ जना स्वास्थ्य विशेषज्ञसहितको टोली मुजफ्फपुर पुगेको छ । पहिले बालबालिकाको मृत्यु ज्वरोकै कारण भनिए पिन पछि लिची खाँदा भएको बताइएको थियो । किनभने मुजफ्फरपुर आसपास फल्ने लिचीमा केही विषालु तत्त्व पाइएको थियो । सोही लिची खाएकै कारण बालबालिकाको मृत्यु हुन सक्ने आशंका गरिएको नवभारत टाइम्सले उल्लेख गरेको छ ।
बिहानको खाजामा केहीले लिची खाइरहेका थिए
गर्मीका कारण यस क्षेत्रमा गरिब परिवारका बालबालिका सामान्यत: बिहान खाजाका रुपमा लिची खाने गरेका थिए । अभिभावक पनि उनीहरुलाई लिची नै खान दिने गर्थे । यसैकारण बच्चालाई घातक मानिएको हो । जसले शरीरमा रहेको चिनीको मात्रालाई ह्वात्तै घटाइदिन्छ । लिचीमा मिथाइल साइक्लोप्रोपाइल-ग्लाइसिन (एमसीपीजी) नामको केमिकलसमेत पाइन्छ ।
जब लामो समय भोकै भइन्छ अनि शरीरमा पोषण कमी भए पछि चिनीको मात्र पनि कम हुन जान्छ जसले मस्तिष्कलाई प्रभाव पार्छ । आफ्ना बालबालिकालाई खाली पेट लिची नखुवाउनु भन्दै बिहारका स्वास्थ्य अधिकारिहरुले अभिभावकहरुलाई सल्लाहसमेत दिएका छन् । यस्तै आधा पाकेको अर्थात काँचो लिची पनि नखान सल्लाह दिएका छन् ।