पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जर्दारी सोमबार राजधानी इस्लामाबादमा पक्राउ परेका छन्। सम्पति शुद्धिकरणसम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको बताइएको छ।देशको उच्च अदालतले जर्दारी र उनकी बहिनीका लागि पूर्वपक्राउ जमानत लम्ब्याउन अस्वीकार गरेपछि प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो।
जर्दारी र उनको बहिनीविरुद्ध झुटा बैंक खातामार्फत आर्थिक अवस्था लुकाएको आरोप लाग्दै आएको छ। पहिले पनि जर्दारीले भ्रष्टाचारको मुद्दामा जेल सजाय भोगेको भए पनि उनी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति रहेका थिए।उनको पत्नी पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोको हत्यापछि उनी राष्ट्रपतिका रूपमा चुनिएका थिए।
इस्लामाबाद उच्च अदालतले जर्दारीका लागि पूर्वपक्राउ जमानत थप गर्न अस्वीकार गरेसँगै राष्ट्रिय उत्तरदायित्व ब्युरो (एनएबी) का सदस्यहरु उनको निवासमा गएको फुटेज पाकिस्तानी मिडियाले देखाएका छन्।फुटेजमा उनले आफ्ना छोरा बिलावाल भुट्टो जर्दारीसँगै निवासस्थान छोडेको देखिएको छ।जर्दारीका छोरा बिलावाल हाल पाकिस्तानको प्रमुख विपक्षी दल पाकिस्तान पिपल्स पार्टी (पिपिपी) का वर्तमान अध्यक्ष रहेका छन्।
राष्ट्रिय उत्तरदायित्व ब्युरोका सदस्यहरु जर्दारीलाई पक्राउ गर्न इस्लामाबादस्थित उनको निवासमा पुगेलगत्तै पिपिपीका समर्थक त्यहाँ भेला भएका थिए।उनीहरुले जर्दारी निवास बाहिर पाकिस्तानको पारिवारिक राजनीतिक वंशलाई उद्धृत गर्दै ‘भुट्टो जिन्दाबाद ! को नारासमेत लगाएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।
पाकिस्तानको राजनीतिमा जर्दारीलाई अत्यन्तै विवादित व्यक्तिका रूपमा चित्रण गर्ने गरिएको छ।उनले सन् १९९० को दशक र २००० को दशकमा जेल जीवन बिताएका थिए र उनलाई ‘मिस्टर १० प्रतिशत’को उपनामसमेत दिइएको थियो।उनले सरकारी कन्ट्याक्टहरुबाट १० प्रतिशत कमिसन लिने गरेको आरोप लागेकाले उनको उपनाम नै ‘मिस्टर १० प्रतिशत’ राखिएको थियो।