ब्रिटेनमा एक प्रभावशाली मन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्री टेरेजा मेमाथि पनि पदत्यागको दबाब बढेको छ।
हाउस अफ कमन्सकी नेता एन्ड्रिया लेड्समले सरकारको कार्यशैलीबाट ब्रेक्जिट अर्थात् ईयूबाट ब्रिटेनको बहिर्गमन सम्भव भएको आफूलाई अब विश्वास नरहेको भन्दै पद छोडेकी हुन्। केही मन्त्रीहरूले अब प्रधानमन्त्री मे पदमा बसिराख्न नसक्ने बीबीसीलाई बताएका छन्। एक जनाले यो "अन्तिम विन्दु" भएको टिप्पणी गरेका छन्।
तर सरकारी स्रोतका अनुसार मे भने राजीनामाको पक्षमा छैनिन्। लेड्समलाई पठाएको पत्रमा प्रधानमन्त्री मेले उनलाई गुमाउनु परेकोमा दु:ख व्यक्त गरेकी छन्। प्रधानमन्त्री कार्यालयले अब मेले अर्को महिना संसद्मा ब्रेक्जिटसम्बन्धी परिमार्जित प्रस्ताव प्रस्तुत गर्ने बताएको छ।
यसअघि आफ्नो ब्रेक्जिट विधेयकका लागि समर्थन जुटाउने उद्देश्यसहित मेले प्रस्तुत गरेको नयाँ प्रस्तावमा नकारात्मक प्रतिक्रिया आएका थिए।
मेको दलको एउटा समितिले बुधवार उनीमाथि तुरुन्तै अविश्वासको प्रस्ताव लगाउन मिल्नेगरी विधान परिवर्तन गर्ने/नगर्ने विषयमा गोप्य मतदान गरेका छन्। जुन १० सम्म मेले राजीनामा नदिए बन्द खाममा सुरक्षित गोप्य मतदानको निर्णय हेरिनेछ।
गएको डिसेम्बरमा अविश्वासको प्रस्तावलाई पराजित गरेका कारण अहिलेको नियमले १ वर्ष उनीविरुद्ध अर्को अविश्वासको प्रस्ताव दर्ता हुन सक्दैन। उनले बुधबार गरेको प्रस्तावमा सांसदहरूले ईयूबाट ब्रिटेन हट्ने/नहट्ने विषयमा नयाँ जनमतसंग्रह गराउनेबारे मतदान गर्न पाउने व्यवस्था थियो।
तर प्रधानमन्त्री मेको पछिल्लो रणनीतिलाई ब्रेक्जिट समर्थक नेता तथा विपक्षी लेबर पार्टी सबैले विरोध गरेका छन्।
जनमतसङ्ग्रह हुनसक्छ ?
ब्रेक्जिटबारे अर्को जनमतसंग्रहको माग गरिरहेका सांसदहरू पनि मेको वाचालाई उनको उत्तराधिकारीले सजिलै उल्ट्याइदिन सक्ने भन्दै असमञ्जसमा परेका छन्। यसअघि सांसदहरूले मेको योजना तीन पटक अस्वीकार गरिदिइसकेका छन्। लेबर पार्टीसँग सहमति जुटाउने उनको प्रयास पनि विफल भएको छ।