भारतीय लोकसभा चुनावको मतगणना आज हुँदैछ। विहान आठ बजेवाट गणना शुरु हुने निर्वाचन आयोगले जानकारी दिएको छ। नतिजा चरणबद्ध रूपमा प्रकाशित हुने निर्वाचन आयोगले जानकारी दिएको छ। अन्तिम नतिजा बिहीबार अबेर वा शुक्रवार सबेरै आउने अपेक्षा गरिएको छ।
इलेक्ट्रोनिक भोटिङ मेसिनको नतिजालाई प्रिन्ट गरिएका मतपत्रसँग रुजु गर्नु पर्ने हुँदा गणनामा केही ढिलाइ पनि हुन सक्ने ठानिएको छ। आज करिब ८ हजार उम्मेदवार तथा ६ सय ७० राजनीतिक दलको भाग्यको फैसला हुने छ।
५ सय ४३ लोकसभा सिटका लागि सात चरणमा चुनाव भएको थियो। सर्बेक्षणहरुले सत्तारुढ भारतीय जनता पार्टीको गठवन्धनले नै यसपटक पनि बहुमत ल्याउने देखिएको छ।
कांग्रेससहितको विपक्षी गठबन्धन भने त्यसमा सत्यता नरहेको बताउदै आएको छ। निर्वाचित भएका लोकसभा सदस्यबाटै सबैभन्दा ठूलो दल अर्थात बहुमत ल्याउने दलका नेता प्रधानमन्त्री बन्ने छन्। यस्तो हुन नसकेमा गठबन्धनका नेता प्रधानमन्त्री बन्ने छन्।
चुनावलाई प्रधानमन्त्री नरेन्द्र मोदीको समीक्षाका रुपमा पनि लिइएको छ। प्रधानमन्त्री मोदीका मुख्य प्रतिद्वन्द्वीका रुपमा कांग्रेसका राहुल गान्धी रहेका छन्। अघिल्लो चुनावमा नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले २ सय ८२ सिट जितेको थियो। यस्तै गान्धीको पार्टी कांग्रेसले ४४ सिट मात्रै जितेको थियो।