भारतीय लोकसभा निर्वाचनबारे विभिन्न संस्थाहरूले गरेका एक्जिट पोल्समा सत्तारुढ गठबन्धन एनडीएलाई स्पष्ट बहुमत मिल्ने देखाएका छन् ।
१० एक्जिट पोल्समा एनडीएलाई स्पष्ट बहुमत प्राप्त हुने अनुमान गरिएको हो । कंग्रेस नेतृत्वको गठबन्धन यूपीएले पनि अघिल्लो चुनावमा भन्दा दोब्बर सिट हासिल गर्ने अनुमान छ ।
१० एक्जिट पोल्सअनुसार एनडीएले औसत ३ सय ४ सिट पाउने देखिएको छ । यूपीएको औसत सिट भने १ सय १९ छ । २०१४ को निर्वाचनमा एनडीएले ३ सय ३६, यूपीएले ६० र अन्यले १ सय ४७ सिट प्राप्त गरेका थिए ।
निर्वाचन सकिएलगत्तै टेलिभिजन तथा अखबारहरूले एक्जिट पोल सार्वजनिक गरेका थिए । त्यसैअनुसार नतिजा आउने हो भने भारतीय जनता पार्टी नेतृत्वको एनडीए (राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन) फेरि सत्तामा फर्कनेछ ।
यसपटक भाजपालाई स्पष्ट बहुमत प्राप्त हुने आकलन गरिए पनि अन्य दलको स्थिति पनि बलियो देखिएको छ । भारतमा सरकार बनाउन २ सय ७३ सिट हासिल गर्नु अनिवार्य मानिन्छ ।