गत बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शीर्ष अधिकारीसँग बैठक गरे । जसमा कार्यवाहक रक्षामन्त्री प्याट्रिक शेनहेनले मध्यपूर्वमा अमेरिकी सेना तैनाथीसम्बन्धी योजना पेश गरे । न्युयोर्क टाइम्सका अनुसार अमेरिका मध्यपूर्वमा १ लाख २० हजार सैनिक पठाउनेबारेमा विचार गरिरहेको छ । सन् २००३ मा इराकमा हमला गर्दा यति नै संख्यामा सेना अमेरिकाले पठाएको थियो ।
यही परिदृश्यमा अहिले चर्चा चलेको छ– के इरान र अमेरिकाबीच युद्ध हुन्छ ? के ट्रम्प इरानमा सत्ता परिवर्तन चाहन्छन् ? ट्रम्प भनिरहेका छन्–हामी इरान के गरिरहेछ भनेर हेरिरहेका छौं, यदि इरानले केही कदम चाल्छ भने उसको सबैभन्दा ठूलो गल्ती हुनेछ ।’
इराकको अरमान अखबारले राष्ट्रसंघका लागि इरानका पूर्व राजदूत अली खुर्रमलाई उद्दृत गर्दै समाचार छापेको छ । त्यसमा खुर्रमले भनेका छन्– जसरी अमेरिकाले इराकमा सद्दाम हुसेनको सरकारलाई अपदस्थ गरेको थियो, त्यस्तै योजना इरानविरुद्ध पनि बनाइरहेको छ । अमेरिकाले इराकमा यस्तो कदम तीन स्तरमा गरिरहेको छ, इरानमा पनि त्यस्तै गर्नेछ । पहिले प्रतिबन्ध लगाउनेछ, त्यसपछि तेल र ग्याँस आयातमा पूर्ण रुपमा अवरोध गर्नेछ र अन्त्यमा सैन्य कारवाही गर्नेछ ।’
अमेरिकाले इरानसँगको परमाणु सम्झौता समाप्त गरेपछि इरानले युरोपेली मुलुकको आशा गरेको थियो । परमाणुसम्झौता समाप्त नहोस् भन्ने आशा इरानको थियो । यसैअनुसार इयुका अधिकारीहरुले आफ्ना कम्पनीलाई इरानसँगको व्यापार र लगानी जारी राख्न प्रोत्साहित पनि गरे । र, अमेरिकासँग पनि आफ्नो मुलुकका कम्पनीलाई इरानसँग व्यापार गर्न दिन आग्रह गरे । अब इयुका कम्पनीले पनि यसप्रति वास्ता गर्न छाडेका छन् । युरोपको पीएसए समूहले इरानी गाडी उत्पादक कम्पनीको साझेदारी छाडेको छ ।
संकटमा इरान
संकटमा रहेको इारनले चीन र भारतले सहयोग गर्ने आशा गरेको छ । तर स्थिति सहज छैन । ट्रम्प प्र्रशासनले पहिलेदेखि नै चीनविरुद्ध व्यापार युद्ध जारी राखेको छ भने इरानमा लगातार स्थिति बिग्रदै गइरहेको छ । इरानी मुद्रा रियाल इतिहासमै कमजोर बनेको छ । गैरकानुनी बजारमा एक डलरलाई बराबर १ लाखभन्दा बढी रियाल दिनुपरिरहेको छ । जबकि यसैवर्षको सुरुमा रियालको मूल्य डलरको तुलनामा अहिलेभन्दा आधा कम थियो ।
भारतले इरानसँग तेल किन्न नपाउने
अमेरिकाले इरानमाथि लगाउँदैं आएको प्रतिबन्ध थप कडा पारेपछि भारतले इरानसँग तेल किन्न नपाउने भएको छ । अमेरिकाले यसअघि इरानसँग तेल किन्न भारतलाई छुट दिँदै आएको थियो । तर अमेरिकाले प्रतिबन्धमा कडाई गरेपछि मे १ देखि उक्त छुुट हटाएको थियो । अब भारतले चाहेर पनि इरानसँग तेल किन्न सक्दैन । यदि भारत अमेरिकाविरुद्ध गएर इरानसँग तेल किन्छ भने भारतविरुद्ध अमेरिकाले प्रतिबन्ध लगाउन सक्छ ।
यही संकटका बीच भारतसँग वार्ता गर्न इरानी विदेशमन्त्री मोहम्मद जावेद जरिफ नयाँदिल्ली पुगेका छन् । दुवै देशका विदेशमन्त्रीबीच अमेरिकी प्रतिबन्धको सामना गर्नेबारेमा कुरा हुने बताइएको छ ।
भारत इरानी तेल सबैभन्दा धेरै चीनले किन्छ । त्यसपछि दोस्रो ठूलो ग्राहक भारत हो । अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएपछि भारतले तेल खरिद कटौति गर्दै हरेक महिना १.२५ मिलियन टनको सीमा तय गरेको थियो । २०१७–१८ मा भारतले इरानसँग प्रतिबवर्ष २२.६मिलियन टन तेल किनेको थियो । बीबीसीबाट