अगाडिको चक्का नखुलेकै अवस्थामा विमानचालकले एउटा यात्रुवाहक जेट विमान सुरक्षित रूपमा अवतरण गराएका छन् ।
म्यानमार नेसनल एयरलाइन्सको विमान म्यान्डले विमानस्थलको धावनमार्गमा रोकिनुअघि चिप्लिएको थियो । इम्ब्राअर १९० मोडलको विमानमा ८९ यात्रु सवार थिए ।
विमानलाई कुशलतापूर्वक अवतरण गराएकोमा विमानचालकको प्रशंसा गरिएको बीबीसीले उल्लेख गरेको छ ।
म्यानमार न्याश्नल एअरलाइन्सका अनुसार विमान अवतरण गर्नुअघि एअर ट्राफिक कन्ट्रोलरहरूले विमानको चक्का खुले-नखुलेको ठम्याउन सकुन् भनेर क्याप्टेन म्यान मो अङले विमानस्थलमाथि विमानलाई दुई फन्को घुमाएका थिए।
यसरी गराइयो अवतरण
याङ्गुनबाट म्यान्डलेका लागि उडेको उक्त विमानमा अवतरणको बेला त्यस्तो समस्या देखिएको थियो । "विमानचालकले आपत्कालीन प्रक्रिया पूरा गरेका थिए । उनले विमानको तौल घटाउनलाई धेरै इन्धनलाई आकाशमै खपत गराएका थिए," विमानसेवाको भनाइ छ ।
विमान अवतरण गर्दा खिचिएको भिडियोमा विमानले अगाडिको भागले भुइँ छुनुअघि पछाडिको चक्कामा भर परेको देखिएको छ । विमान पूरै रोकिनुअघि धावनमार्गमा २५ सेकेन्ड घिस्रिएको थियो ।
यसअघि गत बुधबार पनि म्यानमारको अर्को विमानस्थलमा एउटा विमान चिप्लिएको थियो । विमान बाङ्ग्लादेशको एउटा विमान खराब मौसमका कारण बित याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा चिप्लिएको थियो । सो घटनामा १७ यात्रु घाइते भएका थिए ।