अफगानिस्तानका टेलिभिजन प्रस्तोता तथा अधिकारकर्मी मीना मंगलको गोली हानी हत्या भएको छ ।
राजधानीमा दिन दहाडै गोली हानी हत्या भएपछि त्यहाँ आक्रोश उत्पन्न भएको छ । राजनीतिज्ञ र अधिकारकर्मीले हत्याको विरोध गर्दै पीडितलाई न्याय दिनुपर्ने जनाएको बीबीसीले उल्लेख गरेको छ ।
उनी राजनीतिक जीवनमा आउनुअघि टेलिभिजन प्रस्तोता थिइन् । गत शनिबार उनको काबुलमा हत्या भएको हो । सरकारी अधिकारीहरुले हत्यारालाई समातेरै छाड्ने बताएका छन् । प्रहरीले अनुसन्धान गरिरहे पनि घटनामा कसको हात छ भन्ने अझै खुलेको छैन ।
मंगल अहिले अफगान संसदको सांस्कृतिक मामिला आयोगमा सल्लाहकारका रुपमा कार्यरत थिइन् । उनले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा आफूलाई सुरक्षा थ्रेट रहेको बताएकी थिइन् । तर, कोबाट थ्रेट भन्ने नखुलाएको बीबीसीले उल्लेख गरेको छ । तर, प्रहरी प्रवक्ताले पारिवारिक झमेलाबारे पनि अनुसन्धान भइरहेको जनाएका छन् ।
हत्याको निन्दासहित न्यायको माग
अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले एक चर्चित पत्रकार तथा राजनीतिक सल्लाहकारको हत्याको निन्दा गर्दै न्यायको माग गरेका छन् । अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्लाले उनका हत्यारालाई पक्राउ गरिने वाचा गरेका छन् ।
प्रहरीले अनुसन्धान थालेको छ । उनको हत्यामा संलग्नको भने पहिचान भइसकेको छैन । अफगानिस्तानको सर्वोच्च अदालत, महिलाविरुद्ध हिंसासम्बन्धी आयोग तथा नागरिक समाजका विभिन्न समूहले हत्याबारे गम्भीर अनुसन्धानको माग गरेका छन् ।
अफगानिस्तानमा महिलाविरुद्ध हिंसा
उनको हत्यापश्चात् अफगानिस्तानमा सामाजिक सञ्जालमा महिला हिंसाको स्तरबारे निकै चर्चा भएको छ । कतिपयले अफगानिस्तानमा महिलाविरुद्धका अधिकांश ठूला अपराधका घटना दिउँसै अनि काबुलको अतिसुरक्षित मानिने ग्रिन जोनमा हुने गरेको औँल्याएका छन् ।
"एक महिला दिउँसै मारिएकी छन् । किनभने एक पुरुषलाई लाग्यो कि उनी मारिनलायक छिन्," वाज्मा फ्रोगले लेखेकी छन् ।
खासगरी तालिबान समूहको वर्चस्व रहेका इलाकाहरूमा लैंगिक हिंसा बढिरहेको अभिलेख अधिकारवादी समूहहरूले राखेका छन् ।