श्रीलंकाको राजधानी कोलम्बोस्थित चर्च र होटलमा आज बिहान भएका श्रृंखलाबद्ध बम बिस्फोटमा परी ३५ विदेशीसहित २ सय ७ जनाको मृत्यु भएको छ ।घटनामा ४ सय ५० भन्दा बढी घाइते भएका छन् । इस्टरको कार्यक्रम भइरहेका बेला कोच्चिकडे, नेगोम्बो र बाट्टिकालोआका ३ चर्चमा आक्रमण भएका हुन् ।
यस्तै, कोलम्बोका दि सांग्रिला, सिनामन ग्रान्ड र किंग्सबरी होटलमा पनि आक्रमण भएको छ । प्रहरीका अनुसार नेगोम्बोस्थित सेन्ट सेबेस्टियन चर्चमा मात्र ५० जना मारिएका छन् । यस्तै, आक्रमणको निशानामा परेको सिनामन ग्रान्ड होटल प्रधानमन्त्रीको सरकारी निवासनजिकै पर्ने बताइएको छ ।
अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय कर्फ्युको घोषणा भएको छ र सामाजिक सन्जाल अल्पकालका लागि बन्द गरिएको छ ।
राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विज्ञप्ति जारी गर्दै नागरिकहरुलाई शान्त रहन र अनुसन्धानमा सुरक्षा अधिकारीलाई सघाउन अपिल गरेका छन् । प्रधानमन्त्री रनिल विक्रमासिंघले मन्त्रिपरिषदको आपत्कालिन बैठक बोलाएका छन् । अर्थमन्त्री मंगला समरावीरारले आक्रमण योजनाबद्ध गराइएको उल्लेख गर्दै त्यसमा निर्दोेष नागरिक परेको बताएका छन् । आक्रमणको कसैले जिम्मा लिएको छैन । तर विभिन्न देशबाट फर्किएका इस्लामिक स्टेटका लडाकूहरुले आक्रमण गराएको आशंका गरिएको छ ।