समाजवादी पार्टीका उम्मेदवार मुलायमसिंह यादव र मायावती २४ वर्षपछि एउटै मञ्चबाट जनतालाई सम्बोधन गरेका छन् ।
भारतको मैनपुरीमा आयोजित चुनावी सभामा उनीहरु २४ वर्षपछि सँगै देखिएका हुन् । समाजवादी पार्टीका उम्मेदवार मुलायमसिंहको चुनावी र्यालीलाई मायावतीले सम्बोधन गरेकी हुन् । उनले उपस्थित सर्वसाधारणसँग मुलायमसिंहका लागि मतदान गर्न आग्रहसमेत गरिन् ।
चुनाव प्रचारका लागि आयोजित संयुक्त र्यालीपछि सभाको आयोजन गरिएको थियो । मञ्चमा मुलायमसिंह, मायावतीका साथमा अखिलेश यादव पनि सँगै देखा परेको बीबीसीले जनाएको छ ।
मुलायमसिंहले सम्बोधनका क्रममा भने, "हाम्रो भाषण धेरैपटक तपाईंहरुले सुनिसक्नुभएको होला । म धेरै बोल्ने पक्षमा छैन । तपाईंहरुले हामीहरुलाई जिताइदिनुस् । पहिला पनि जिताउनुभएको थियो । अहिले पनि जिताउनुस् ।"
साथै मुलायमसिंहले यो पनि भने, "मायावती जीले हामीलाई साथ दिनुभएको छ, म उहाँको कृपा कहिल्यै भुल्दिनँ । मलाई खुसी छ कि उहाँ हाम्रो साथमा हुनुहुन्छ । हाम्रो क्षेत्रमा आउनु भएको छ ।"
लगत्तै सम्बोधन गरेकी मायावतीले पनि मुलायमसिंहलाई भारी मतले जिताउन आग्रह गरिन् । उनले भनिन्, "मुलायम सिंह यादव, नरेन्द्र मोदीजस्तो नक्कली पिछडिएको वर्गको प्रतिनिधित्व गर्नुहुँदैन । यादव वास्तविक रुपमै पिछडिएको वर्गबाटै प्रतिनिधित्व गर्नुहुन्छ ।"