सुदूरपश्चिममा बिहीबार रातिको हावाहुरीले २ जनाको मृत्यु हुनुका साथै सय बढी घाइते भएका छन् । हावाहुरीले केही पहाडी जिल्लामा विद्युत् सेवा ठप्प भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा अत्यावश्यक सेवा प्रवाहमा समस्या भएको छ । सर्वसाधारणको गास (खाना) पानीले भिजाएर काम नलाग्ने बनाएको छ भने बास (घर) उजाडेर बस्नै नमिल्ने भएको छ ।
डडेल्धुरा, बैतडी, डोटी, दार्चुला, बझाङ, अछाम र बाजुरामा बिहीबार आएको हावाहुरीले विभिन्न ठाउँमा विद्युतका पोल ढलेका छन् । ठाउँठाउँमा पोल ढल्दा सेवा अवरुद्ध भएको हो । विद्युत् अवरुद्ध हुँदा यहाँका एफएम रेडियोको प्रशारणमा पनि समस्या आएको छ । केही एफएम स्टेसनहरु जेनेरेटरका माध्यमले चलिरहेका छन् भने अधिकांश बन्द छ । यस्तै पत्रपत्रिकाहरुको प्रकाशनमा पनि अवरोध आएको छ । हावाहुरीले विद्युत् नभएपछि कैलाली तथा कञ्चनपुरबाट निस्कने १२ जति स्थानीय पत्रपत्रिका प्रकाशित हुन सकेनन् ।
विद्यालयहरु बन्द गरिएका छन् । सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । विभिन्न सरकारी तथा गैर-सरकारी कार्यालय, व्यापारीलगायतलाई काममा समस्या भएको हो । पत्रकारहरुलाई समाचार सम्पादनमा कठिनाइ भइरहेको छ । मोबाइलको ब्याट्री चार्जका लागि पनि इन्भर्टर र जेनेरेटर भएका ठाउँमा धाउनुपर्ने बाध्यता छ । इन्भर्टरको चार्ज पनि सकिने अवस्था रहेकाले कसरी समाचार सम्प्रेशण गर्ने भन्नेमा पत्रकारहरु चिन्तित छन् ।