मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा देशभरकै पत्रकार आन्दोलित भएका छन् ।
विधेयकमा राखिएका केही प्रावधानले नागरिकको स्वतन्त्रतासमेत हनन हुने र प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने अवस्था आएको भन्दै महासंघको अगुवाइमा देशैभरका पत्रकार आन्दोलित भएका हुन् ।
उनीहरु शुक्रबार बिहानैदेखि सञ्चारका साधन सडकमा राखेर धर्नामा बसेका हुन् । काठमाडौंमा पनि महासंघको अगुवाइमा संसद भवनअगाडि प्रदर्शन गरिएको छ ।
महासंघले काठमाडौंमा संसदबाहिर र अन्य जिल्ला सदरमुकाममा सञ्चार सामग्रीसहित प्रदर्शन गर्ने निर्णय गरेको थियो । आफूले उठाएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले थप आन्दोलित हुनुपर्ने अवस्था आएको महासंघका सचिव रमेश विष्टले जनाएका छन् ।
पहिलो चरणको आन्दोलन सुरु भएको १ साता बित्दा पनि सुनुवाइ नभएको भन्दै महासंघले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो । देशभर नै भइरहेका विरोध प्रदर्शनका केही तस्बिर र त्यहाँको अवस्थाबारे प्रस्तुत गरेका छौं ।