भेरी नगरपालिकाको शैक्षिक अवस्था सुधार गरी जिल्लाकै नमुना बनाउने अभियानमा जुटेका नगरप्रमुख चन्द्रप्रकाश घर्ती आफै विद्यार्थी पढाउँदै आएका छन् ।
विद्यालय अनुगमन तथा निरीक्षणमा दैनिक जाने नगरप्रमुख घर्तीले विद्यालयको भौतिक संरचना मात्र हेर्दैनन्, विद्यार्थीको सिकाइ उपलब्धि बुझ्न विद्यार्थी पढाउने काम समेत गर्दै आएका छन् । नगर प्रमुख घर्तीले आफ्नो मुलुकको भविष्य बोक्ने आजका कर्णधार बालबालिकाको शिक्षा के कस्तो रहेछ भनी छड्के जाँच गर्दै सिकाइ उपलब्धिसमेत जाँच गर्न आफैले पढाउने गरेको बताए । विज्ञान र गणितमा राम्रो ज्ञान भएका र अन्तर्राष्टियस्तरको खेलकुदमा छवि बनाएका उनले मावि तहको कक्षा फुर्सद हुने बित्तिकै पढाउने गरेको बताए ।
शिक्षामा लगानी गरेर मात्र नहुने भन्दै घर्तीले भने, 'निरन्तर खबरदारी, अनुगमण र शिक्षण सिकाइ क्रियाकलाप कस्तो छ भनि अध्ययन गर्नु पनि मुख्य कुरा हो ।' उनले प्रशिक्षणअनुसारको सुधार भएको छ/छैन भनि विद्यालयमा दैनिक जाने गरेको बताए । शिक्षालाई प्राविधिसँग जोडेर परिणाममुखी बनाउनुपर्ने उनको भनाइ छ ।
उनले भने, 'हामीले विद्यालयको समस्या विद्यार्थीको मुखबाट सुन्ने हो, कहाँ के समस्या छ भन्ने कुरा, अनि पो सुधार गर्न सजिलो हुन्छ, को शिक्षक कति दिन विद्यालय आउनुभयो, को आउनुभएन र कति पढाइ भयो किताब नहेरी कहाँ थाहा हुन्छ ।' कक्षामा नगरप्रमुख जान थालेपछि शिक्षक पनि आफ्नो शिक्षणकार्य सुधार गर्नुपर्ने भन्दै सक्रिय भएका विद्यार्थीले बताएका छन् । आजभोलि विद्यालयमा शिक्षकले निरन्तर पढाउनुका साथै विद्यार्थीसँग छलफलसमेत बढी नै गर्दैआएका सरस्वतीमावि काफलचौरका विद्यार्थी रोशन पुनले बताए । -रासस