सरकारले विद्यार्थीहरुबाट लिइएको अतिरिक्त शुल्क फिर्ता दिन निजी मेडिकल कलेजहरुलाई १५ दिनको अल्टिमेटम दिएको छ । शिक्षा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोखरलेलले १५ दिनभित्र पनि विद्यार्थीबाट बढी लिइएको शुल्क फिर्ता नभए ठगीको मुद्दा चलाउन बाध्य हुने बताए ।
उनले आफ्ना विद्यार्थीहरुको माग सम्बोधन गर्न निजी मेडिकल कलेजहरुलाई आग्रह पनि गरे । चिकित्सा शिक्षा ऐन कार्यान्वयन र मन्त्रिपरिषदका निर्णय कार्यान्वयन गर्न अन्तिमपटक आग्रह गरिएको भन्दै उनले भने, ‘उहाँहरुले मिलाउनु भएन भने विद्यार्थी र अभिभावकका निवेदनहरु कार्यान्वयनको प्रक्रियामा जान्छ ।’
१५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउन आग्रह गर्दै गृह मन्त्रालयलाई सोमबारै पत्र लेख्ने शिक्षा मन्त्रालयको तयारी छ ।
उनले अभिभावक र विद्यार्थीहरुलाई पनि गुपचुप रुपमा असमान सर्तहरु स्वीकार नगर्न आग्रहसमेत गरेका छन् । ‘पहिले आफू सुरक्षित हुन जस्तोसुकै सर्त स्वीकार गर्ने र अहिले सरकारको निर्णय लागू भएन भन्नु भएन,’ उनले भने ।