जिल्ला कारागार स्याङ्जामा रहेका बन्दीका लागि पुस्तक हस्तान्तरण गरिएको छ । बन्दीलाई कानुनी तथा शैक्षिक जनचेतना जगाउनुका साथै पढ्ने बानीको विकास गर्ने उद्देश्यले शुक्रबार पुस्तक हस्तान्तरण गरिएको टिम नेपोका अध्यक्ष निगम पौडेलले बताए ।
“विगत ९ वर्षदेखि पुस्तक परियोजनाअन्तर्गत विभिन्न विद्यालयमा पुस्तकालय स्थापना गर्दै आएका छौँ,” उनले भने, “विद्यालयमा प्रदान गरिएका पुस्तकप्रति विद्यार्थीको रुचि नदेखिएका कारण हामीले गत वर्षदेखि कारागार केन्द्रित गरेका छौँ ।”
पहिलोपटक अर्घाखाँची जिल्ला कारागारका बन्दीलाई पुस्तक हस्तान्तरण गरेको संस्थाले दोस्रोपटक स्याङ्जा जिल्ला कारागारमा पुस्तकालय स्थापनाका लागि ४ सय ६५ पुस्तक सहयोग गरेको पौडेलले बताए । “केन्द्रीय कारागार डिल्लीबजारबाट अनुमति लिएर हामीले अहिले देशभर रहेका कारागारमा क्रमशः पुस्तक सहयोग गर्दै जाने योजना बनाएका छौँ”, टिम नेपो प्रदेश ३ का संयोजक नारायण खनालले भने, “यो अभियान सम्पन्न गर्न झन्डै ३ वर्ष लाग्नेछ ।”
विभिन्न संघ-संस्था तथा व्यक्तिमार्फत संकलन गरिएको पुस्तक टिम नेपोले प्रत्येक कारागारमा ४ देखि ५ सयका दरले सहयोग गर्ने खनालले बताए । टिम नेपोले कारागारका कैदीलाई लक्षित गरी पुस्तक प्रदान गरी सहयोग गरेको कारागार प्रमुख चूडामणि शर्माले बताए । -रासस