सरकारले प्राविधिक शिक्षालाई विस्तार गर्ने नीति लिए पनि प्राविधिक शिक्षा अध्ययनका लागि भर्ना हुने विद्यार्थीको सङ्ख्या आश्चर्यजनक रूपमा घटेको छ।
यस वर्ष निर्धारित कोटाभन्दा साढे नौ हजार विद्यार्थी कम भर्ना भएपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का पदाधिकारीलाई गम्भीर र चकित तुल्याएको छ।
डिप्लोमा र टीएसएलसी कार्यक्रममा कम विद्यार्थी भर्ना भएपछि २९३ शिक्षण संस्थाले नौ हजार ५११ विद्यार्थी भर्ना हुन नआएको जनाउ सीटीईभीटीलाई दिएका छन्।
परीक्षा नियन्त्रक शिवहरि ढकालले भने, “ती संस्थाले कम विद्यार्थी भर्ना गरेकाले वैकल्पिकमा रहेकालाई भर्ना गर्न अनुमतिका लागि निवेदन दिएका छन्।” सीटीईभीटीका आङ्गिक तथा सम्बन्धन गरी ४४८ शिक्षण संस्था सञ्चालित छन्। डिप्लोमामा १२ हजार र टीएसएलसीमा २७ हजार कोटा निर्धारण गरिएको छ।
सीटीईभीटीका अनुसार, सबैभन्दा कम इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स विषयमा कम विद्यार्थी भर्ना भएका छन्। त्यसैगरी अटो मेकानिक्स, कम्प्युटर इन्जिनियरिङ्का साथै कृषि र होटल व्यवस्थापनमा पनि विद्यार्थीको आकर्षण घटेको पाइएको छ।
फार्मेसी, हेल्थ असिस्टेन्ट र नर्सिङ्मा आकर्षण उच्च नै देखिएको छ। ती विषयमा तोकिएको सङ्ख्यामा विद्यार्थी भर्ना भइसकेको जनाइएको छ। गत भदौको पहिलो सातासम्म भर्ना हुने समयावधि तोकिएको थियो। पठनपाठन पनि सुरु भइसकेको छ।
वैकल्पिकमा रहेका विद्यार्थीलाई भर्ना लिई कोटा पूरा गर्ने योजना बनाइए पनि सीटीईभीटीका लागि भर्ना हुने विद्यार्थी सङ्ख्या घट्नु खोजीको विषय बनेको छ। गाेरखापत्रमा खबर छ।