सफ्टवेयर बनाएर ग्रेडमा समावेश नगर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरा गरेका सयौँ विद्यार्थी कक्षा ११ मा भर्ना हुन पाएका छैनन्।
एसईईको वार्षिक ग्रेड वृद्धि परीक्षामा सम्मिलित भएकाहरूको ग्रेडसिटमा परीक्षार्थीको वृद्धि भएको ग्रेड उल्लेख गरिदिने भए पनि समग्र स्तरीकृत अङ्क (जीपीए) उल्लेख गरिदिने व्यवस्था छैन।
एसईई पूरा गरेकाहरूले न्यूनतम जीपीए १.६ ल्याएपछि कक्षा ११ मा भर्ना हुन पाउने व्यवस्था छ। तर वार्षिक ग्रेड वृद्धि गरेकाहरूको ग्रेडसिटमा विषयगत ग्रेड सी वा सोभन्दा माथि भए पनि जीपीए पुरानै रहने हुँदा उनीहरू कक्षा ११ मा भर्ना हुनबाट वञ्चित हुँदै आएका छन्।
राष्ट्रिय परीक्षा बोर्डको कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, “ग्रेड वृद्धिसँगै परिवर्तन भएको जीपीए पनि ग्रेडसिटमा उल्लेख गरिदिनुपर्दछ भनेर बोर्डलाई आग्रह गरिसकेका छौँ। कुनै निर्णय भएको छैन।” उनले ग्रेड वृद्धि परीक्षापछि जीपीए परिवर्तन नभएर पीडित भएका हजारौँ परीक्षार्थी रहेको र उनीहरू दैनिक जसो गुनासो गर्न आइरहेको जानकारी दिए।