राष्ट्रपति भवन शीतलनिवासमा ४०औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा ३ सय ७३ जनालाई विद्याभूषण र विद्या पदक प्रदान गरिएको छ ।
कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले २ सय ३१ जनालाई नेपाल विद्याभूषण पदक ‘क’ श्रेणी, १ सय १ जनालाई ‘ख’ श्रेणी र ११ जनालाई ‘ग’ श्रेणीको पदक प्रदान गरेकी हुन्।
त्यस्तै, छात्रातर्फ स्नातक तहमा उत्कृष्ट हुने २३ र प्रमाणपत्र तहमा उत्कृष्ट हुने ७ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिएको छ ।
नेपाल विद्याभूषण ‘क’ विद्यावारिधि उपाधिप्राप्तलाई, ‘ख’ स्नातकोत्तर तहका स्वर्णपदक विजेता र ‘ग’ स्नातक तहका स्वर्णपदक विजेतालाई प्रदान गरिन्छ ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय विकासका लागि शिक्षाको महत्त्व रहेको जनाउँदै बदलिँदो परिवेश र आवश्यकताअनुसार पाठ्यक्रम निर्धारण गरी अध्ययन–अध्यापन गर्न सुझाएकी छिन् ।