राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानी उपलब्धिमूलक बन्नुपर्ने बताएकी छन् ।
४०औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार आयोजना गरेको नेपाल विद्या भूषण पदक र नेपाल छात्रा विद्या पदक वितरण समारोहलाई सम्बोधन गर्दै उनले बदलिँदो परिस्थितिअनुरुप पाठ्यक्रम र अध्ययन-अध्यापनमा सुधार गर्नुपर्ने बताइन् । शीतल निवासमै आयोजित कार्यक्रममा उनले गुणस्तरीय शिक्षाका लागि सरकारको पहल र लगानी उपलब्धिमूलक हुनुपर्नेमा जोड दिइन् ।
'सामाजिक, आर्थिक रुपान्तरण, रोजगार र प्रविधि, सदाचारयुक्त शिक्षा अहिलेको आवश्यकता हो,' उनले भनिन्, 'यसका लागि केही नियम परिमार्जनका क्रममा रहेकाले आगामी दिनमा थप शैक्षिक गुणस्तर अभिवृद्धि हुने अपेक्षा गर्दछौं
।'
राष्ट्रपति भण्डारीले विभिन्न विश्वविद्यालयबाट प्राप्त ज्ञान र सीपलाई सरकारले लिएको समृद्ध नेपालको आकांक्षा साकार पार्न उपयोगी हुने विश्वाससमेत व्यक्त गरिन् ।