धुलिखेलस्थित काठमाडाैं विश्वविद्यालय (केयु) को मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द भएको छ। केयु प्राध्यापक संघद्वारा यसअघि गरिएका तालाबन्दी खोल्न जारी वार्ताका क्रममा बिहीबार लेखा र भौतिक व्यवस्थापन शाखामा पनि तालाबन्दी गरेपछि केयुको मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द भएको हो।
संघले विश्वविद्यालय प्रशासनसँग पटक–पटक गरिएका सम्झौताको कार्यान्वयन नभएको जनाउँदै गत साउन २३ गते मुख्य भवनमा रहेका स्कूल अफ साइन्स र स्कूल अफ इञ्जिनीयरिङका डिन तथा साउन २६ गते उपकुलपति र रजिष्ट्रार तथा ग्लोबल इन्गेजमेन्ट कार्यालयका मूलढोकामा तालाबन्दी गरेको थियो। ‘विश्वविद्यालयमा भइरहेको आर्थिक तथा नीतिगत भ्रष्टाचारको अन्त्य गर्नुपर्ने’ मुख्य मागसहित संघले आन्दोलन गर्दै आएको छ।
केयुको वार्ता समितिसँग सम्झौतापश्चात छानविन समिति गठन नगरेसम्म लेखा र भौतिक व्यवस्थापन शाखा बन्द रहने संघले जनाएको छ। “आर्थिक तथा नीतिगत भ्रष्टाचारको छानविन समिति नबनेसम्म दुई शाखा बन्द रहन्छ”, संघका सभापति डा बेदमणि दाहालले बताए।
संघले केयु वार्ता टोलीसँग वार्ता भइरहेको अवस्थामा आर्थिक तथा नीतिगत भ्रष्टाचारको छानविन समिति गठन नभएसम्मका लागि लेखा र भौतिक व्यवस्थापन शाखामा तालाबन्दी गर्दै केयु पदाधिकारीका आदेश अवज्ञा गर्ने तथा केयु क्यान्टिन सञ्चालकलाई आजदेखि विभिन्न अफिसका अर्डरअनुसारको डेलिभरी रोक्न सूचना टाँस गरी जानकारी गराएको छ।
यसअघि संघले विभिन्न कार्यालयमा गरेको अनिश्चितकालीन तालाबन्दी खोल्न विश्वविद्यालय हातामा आइतबारदेखि वार्ता शुरु गरिएको छ। धुलिखेलस्थित केयु तथा यससँग विभिन्न सङ्काय स्वीकृत लिएका अन्य क्याम्पसमा तालाबन्दी भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालय र काठमाडाैं विश्वविद्यालयमा भएको तालाबन्दीलाई आन्दोलनरत पक्षका जायज माग सम्बोधन गरी खोल्न निर्देशन दिएपछि केयु वार्ता टोलीले आन्दोलनरत प्राध्यापक तथा कर्मचारीसँग वार्ता शुरु गरेको हो।
विश्वविद्यालयले गत साउन अन्तिमसाता वार्ता समिति गठन गरे पनि आन्दोलनरत पक्षसँग वार्ता गरेको थिएन। रासस