त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले आफ्नो कार्यकाल दोहोर्याउन दौडधुप तीव्र बनाएका छन्। स्रोतका अनुसार उनीहरू राजनीतिक दलका नेताहरू भेटेर लबिइङ गरिरहेका छन्।
खनियाँले शनिबार नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई शनिबार उनकै ललितपुरको खुमलटारस्थित निवासमा भेटेका थिए। शनिबारै उनले केही सञ्चारकर्मी बोलाएर विश्वविद्यालयमा राम्रोसँग काम गर्न पर्याप्त समय चाहिने तर्क गर्दै दोहोर्याएर काम गर्न दिइए राम्रो हुने दाबी गरे। ‘कुनै पनि संस्थालाई सहज रूपमा अगाडि बढाउन समय लाग्छ। मेरो कार्यकालमा केही काम भएका छन्। उपकुलपतिलाई चार वर्षमात्र कार्यावधि छोटो हो,’ उनले भने।
खनियाँको कार्यकाल केही दिन मात्र बाँकी छ। खनियाँले आफूले राजनीतिक रूपमा नियुक्ति पाए पनि कांग्रेसको कुनै पनि कार्यक्रममा सहभागी नभएको दाबी गरे। तत्कालीन प्रधानमन्त्री एवं कुलपति सुशील कोइरालाबाट नियुक्त खनियाले दाबी गरे, ‘चार वर्षको सबै समय विश्वविद्यालयमा लगाएँ। झमेला आए पनि सम्पूर्ण शक्ति लगाएर काम गरें।’ विश्वविद्यालयको पदाधिकारी नियुक्ति प्रक्रियाका निम्ति शिक्षामन्त्रीको अध्यक्षतामा सर्च कमिटी गठन भएको छ। राजनीतिक भागबन्डाकै आधारमा उपकुलपति छनोट हुनु स्वाभाविक भएको उनले बताए।
त्रिविले चितवनको रामपुरस्थित आफ्नो स्वामित्वको जग्गा भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्न मञ्जुरी दिएको छ। नेकपा अध्यक्ष दाहाललाई खुसी पार्न खनियाँले मञ्जुरी दिएको टिप्पणी गरिएको छ। भरतपुरमा दाहालकी छोरी रेणु मेयर छिन्।
खनियाँले कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई दिने भनिएको जग्गा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन दिन मञ्जुरी दिएका हुन्। क्रिकेट रंगशाला रहेको ठाउँ दाहालको निर्वाचन क्षेत्रसमेत हो। खनियाँले दाहालसँग शनिबार भेटदा मेयर रेणु दाहाल पनि उपस्थित थिइन्। खनियाँले भने रामपुरस्थित चितवन इन्जिनियरिङ क्याम्पसको विषयमा मात्र कुराकानी भएको दाबी गरे। कान्तिपुरमा खबर छ।