शिक्षक सेवा आयोगबाट उत्तीर्ण भई जिल्लामा पठाइएको शिक्षकको दरबन्दी पदस्थापन गर्ने जिम्मा स्थानीय तहहरुलाई दिइने भएको छ। शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकले स्थानीय तहका प्रमुखसँग धुलिखेलमा आयोजना गरिएको ‘शिक्षक पदस्थापन गरिने दरबन्दी’ विषयको छलफलमा स्थानीय तहका प्रमुखहरुले समन्वय एकाइबाट नभई त्यसको जिम्मा स्थानीय तहलाई दिइनुपर्ने आवाज उठाएपछि सो निर्णय भएको हो।
समन्वय एकाइले शिक्षक सेवा आयोगबाट मावि तहमा उत्तीर्ण विभिन्न विषयका शिक्षक गरी ३३ जनाको दरबन्दी कायम गरी पठाएकामा रिक्त दरबन्दी सङ्ख्याको आधारमा विद्यालय तोकेर पठाउने गरी तयार गरिएको विवरणमा स्थानीय तहका प्रमुखले आफूहरुलाई नै जिम्मा दिन आग्रह गरेका थिए।
स्थानीय तहका प्रमुखको एउटै आवाज थियो, “सरकार सञ्चालन ऐनमा एकल अधिकारको सूचीमा राखिएको भए पनि शिक्षा विकास तथा समन्वय एकाइले दरबन्दी विवरण बुझाएको छैन, त्यसका लागि तत्काल विवरण बुझाउन आग्रह गर्दछ।” सो अवसरमा उनीहरुले जिल्लाका कुन स्थानीय तहका प्रावि, निमावि र मावि तहमा के कति दरबन्दी छ, काजमा को–को छन् र रिक्त के–कस्तो छ, त्यसको मिलान गर्नुपर्ने अवस्था के छ भन्ने विवरणको जानकारीसमेत स्थानीय तहमा पठाउनुपर्नेमा जोड दिएका थिए।
शिक्षक पदस्थापन गर्नका लागि कुन स्थानीय तहमा कुन तहको शिक्षक दरबन्दी कति खाली छ भन्ने विवरणसमेत दिएपछि मात्रै त्यही अनुसार स्थानीय तहले गर्ने प्रमुखहरूको भनाइ छ।
शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकका प्रमुख बलबहादुर कार्कीले माथिबाट पठाएको विषयगत शिक्षक स्थानीय तहको आग्रहअनुसार नै पठाउने जानकारी दिए। उनले अहिलेसम्म सङ्घीय शिक्षा ऐन निर्माण नभएका कारण काम गर्न गाह्रो भइरहेको उल्लेख गर्दै दरबन्दी मिलान गर्न कठिन भएको बताए।