नेपाल प्राध्यापक संघका पूर्व अध्यक्षसमेत रहेका कांग्रेस नेता भीमसेनदास प्रधानले प्रजातन्त्रवादी प्राध्यापक संघले प्रगतिशील समूहसँग अपवित्र गठबन्धन गरेका कारण नेपाल प्राध्यापक संघको जारी १६औं महाधिवेशन नटुंगिएको बताएका छन्।
नेकपा सरकारले उच्च शिक्षाका क्षेत्रमा हुने राजनीतिक नियुक्तिमा कांग्रेस पक्षीय प्राध्यापकलाई अवसर दिने र संघको पदाधिकारीमा प्रतितिशील पक्षलाई प्रजातन्त्रवादीले अवसर दिनुपर्ने गोप्य साँठगाँठका कारण विगत तीन साताअघि सुरु भएको प्राध्यापकहरुको महाधिवेशन अझैसम्म सकिएको छैन।
प्राध्यापकहरुको विवाद बढेपछि केन्द्रीय निर्वाचन समितिले अर्को सूचना जारी नभएसम्मको लागि भन्दै निर्वाचन प्रक्रिया स्थगित गरेका सम्बन्धमा प्रधानले टिप्पणी गरे, प्राध्यापक संघको काँधमा राजनीतिक नियुक्तिको बन्दुक राखेर पड्काउन खोज्नु दुर्भाग्यपूर्ण छ, दुई तिहाईको दम्भ बोकेको नेकपा सरकारले उच्च शिक्षाका क्षेत्रमा हुने राजनीतिक नियुक्तिमा कांग्रेस पक्षीय व्यक्तिलाई कुनै अवसर दिंदैन।
कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सिनाले नेपाल प्राध्यापक संघको महासचिव र सचिवसहित आठ सदस्य दिनेगरी सहमति गरेको भन्दै नेता प्रधानले आफ्नै पार्टीभित्रको समूहलाई भने पाखा लगाएको बताए। वामपन्थीहरुलाई चाहिं भागवण्डा गर्ने तर आफ्नै पार्टीभित्र चाहिं भाग नदिने आफ्ना नेताहरुको उनले आलोचना गरे– प्रजातान्त्रिक समूहभित्र पनि पार्टीको संस्थापन पक्ष, रामचन्द्र पौडेल पक्ष र कृष्णप्रसाद सिटौला पक्ष छन्। नेपाल समाचारपत्रमा खबर छ।