नेपालबाट आर्थिक वर्ष २०७५–२०७६ मा नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ।
सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या घट्दैगएको दाबी गरेतापनि आर्थिक वर्ष २०७४–२०७५ को तुलानमा गत वर्ष ५ हजार विद्यार्थीको संख्या बढेको हो।
शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले दिएको तथ्याङकअनुसार गत वर्ष अष्ट्रेलियामा ‘नो अब्जेक्सन’ लिने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ। असार मसान्तसम्म अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीको संख्या ३६ हजार ३ सय २४ रहेको छ। अन्य देशको तुलनामा अष्ट्रेलिया जाने विद्यार्थीको संख्या करिब ७० प्रतिशत बढी रहेको छ।
अष्ट्रेलियामा अध्ययनसंँगै रोजगारीको अवसर पाउने भएपछि विद्यार्थीको संख्या बढेको शाखाले जनाएको छ। अष्ट्रेलियामा तुलनात्मक रुपमा सजिलै भिषा पाउने भएपछि त्यहाँ जानेको संख्या बढ्न थालेको शाखा प्रमुख महेश्वर शर्माले बताए।
शर्माका अनुसार गएको आर्थिक वर्ष अर्थात असार मसान्तसम्म करिब ६३ मुलुक अध्ययन गर्न जान विद्यार्थीले एनओसी लिएका छन्। उनका अनुसार विदेश अध्ययन गर्न एनओसी लिने दोस्रो मुलुक जापान हो। गएको आर्थिक वर्षमा ८ हजार ५ सय २३ जना विद्यार्थीले जापानको लागि एनओसी लिएका छन्। त्यस्तै कोरिया, अमेरिका,क्यानडा,बेलायत, स्वीजरल्याण्ड, इटाली,चीन,थाइल्याण्ड,जर्मन, फ्रान्स लगायत मुलुकका लागि एनओसी लिने विद्यार्थीको संख्या बढ्दो रहेको छ।
पछिल्लो समय अमेरिका र बेलायतले भिषा प्रणालीमा कडाइ गरेपछि त्यहाँ विद्यार्थीको जाने क्रम घट्दै गएको छ। नेपाल समाचारपत्रमा खबर छ।