त्रिभुवन विश्वविद्यालयले एउटै विद्यार्थीलाई अंक थपेर तीन विषयमा स्नातकोत्तरको डिग्री दिएको स्वीकार गरेको छ । तर, यो संस्थागत नभई व्यक्तिगत त्रुटि भएको त्रिवि पदाधिकारीले तर्क गरेका छन् ।
९ अंक ल्याएका सुरेन्द्र कोइरालालाई ६० नम्बर थपेर तीन विषयमा स्नातकोत्तरको डिग्री दिएको स्वीकार गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यार्थीसँगै मानविकी संकायको गोप्य शाखाका कर्मचारी रामबहादुर कर्मचार्यलाई पक्राउ गरेको छ । यसबारे अख्तियारले अनुसन्धान गरिरहेका बेला मंगलबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिले त्रिवि पदाधिकारीलाई छलफलमा बोलायो । बैठकमा त्रिवि रजिस्ट्रार डिल्लीराम उप्रेतीले ९ अंक ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेको स्वीकार गरे ।
रजिस्ट्रार उप्रेतीले बैठकमा भने, ‘९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर पास गर्ने त्रुटि भएको छ । तर, ती विद्यार्थीले गोल्डमेडल नै प्राप्त गरेको भन्नेमा सत्यता छैन । कोइरालाले समाजशास्त्र, अर्थशास्त्र र ग्रामीण विकास विषयमा स्नातकोत्तर डिग्री लिएका छन् । तर, प्रत्येक विषयमा पाँचदेखि ६० नम्बरसम्म थपेको पाइएको छ । कोइरालाले राजनीतिक शास्त्रमा पनि स्नातकोत्तर डिग्री लिएका छन् । त्यसमा भने उनले पाएको नम्बर मिलेको देखिएको रजिस्ट्रार उप्रेतीले जानकारी दिए ।
तीनवटा फ्याकल्टीअन्तर्गत झन्डै दर्जन विषयमा कोइरालाको नम्बर ‘म्यानिपुलेट’ भएको उप्रेती बताए । ‘अख्तियारले छानबिन गरिरहेकाले सबै विषय खोल्न मिल्दैन । तर, आन्तरिक रिपोर्टअनुसार इकोनोमिक्समा करिब ६ वटा विषयमा फेरबदल गरिएको छ । सोसोलोजी र रुलर डेभलपमेन्टअन्तर्गतका पनि दुई वा तीन विषयमा फेरबदल गरिएको छ । मैले त्यसका विषयचाहिँ भन्न मिल्दैन’, बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने । उनले सबै विषयमा उस्तै प्रकारले नम्बर नथपिएको बरु विविध तरिका अपनाइएको बताए । उनले भने, ‘तीनवटै विषयमा त्यसैगरी नम्बर थपिएको होइन । एउटामा ५ लाई ५९ बनाइएको छ । अरू दुई विषयमा ५-१०, ५-१० नम्बर थपिएको देखिन्छ ।’ राजधानी दैनिकमा खबर छ।