जुम्लाको सिँजा गाउँपालिकाभित्रका २२ निजी विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । एक दशकसम्म तलब नपाएको भन्दै निजी शिक्षकले विद्यालयमा तालाबन्दी गरेका हुन् ।
गाउँपालिकाका २२ वटै प्राथमिक,माध्यामिक र उच्च माविमा कार्यरत ६३ शिक्षकले विद्यालयमा एकमुष्ट तालाबन्दी गरेको निजी शिक्षक सङ्घर्ष समितिका कोषाध्यक्ष तथा शान्ति आधारभूत विद्यालय तल्लोगोठीका निजी शिक्षक हरिबहादुर रोकायाले बताए ।
ती विद्यालयका शिक्षकले व्यवस्थापन समितिलाई तलब उपलब्ध गराउन असार ११ गतेका दिन ४ दिनको अल्टिमेटम दिँदासमेत अटेर गरेपछि आइतबारदेखि अनिश्चितकालीन तालाबन्दी गर्न बाध्य भएको शान्तिजन आधारभूत विद्यालय काडागाउँका शिक्षक घनश्याम बुढाले बताए । विद्यालय बन्द हुँदा पठनपाठनबाट विद्यार्थी वञ्चित भएका छन् । यता सिँजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले निजी शिक्षकको तलबसम्बन्धी विवाद गाउँपालिकासँग सरोकार नभएको बताए ।
विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ प्रभावित हुने भएकाले विद्यालय बन्द नगर्न उनले आग्रह गरे । सम्बन्धित विद्यालयका व्यवस्थापन समितिसँग छलफल गरी समस्या समाधान गर्नुपर्ने रावलको भनाइ छ । यता आन्दोलनमा उत्रेका निजी शिक्षकले भने तलब उपलब्ध नभएसम्म विद्यालयको ताला नखोलिने अडान राखेका छन् । -रासस