परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनका लागि सबै तयारी पूरा भएको बताए पनि केही ढिलाई हुने भएको छ।
बिहीबार दिउँसो १ बजे बैठक बसेर नतिजा प्रकाशित गर्ने तयारी भइरहेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले बताए पनि नतिजा प्रकाशनमा केही ढिलाई हुने भएको छ।
परीक्षा नियन्त्रण कार्यालय स्रोतका अनुसार बिज्ञान र सामाजिक शिक्षा दुुई बिषयमा धेरै त्रुटि भएका कारण नतिजा प्रकाशनमा केही ढिलो हुने भएको हो।
यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले ढिला भएको हो। विगतमा जेठ मसान्तदेखि १–२ असारभित्रै एसइईको नतिजा प्रकाशन हुने गर्थ्यो। प्रदेश २ बाहेक सबै ठाउँमा १०–२१ चैतसम्म परीक्षा सञ्चालन भएको थियो। प्रदेश २ मा भने बाँकी विषयको २२ देखि २९ चैतसम्म पुनः परीक्षा भएको थियो।
नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन्। छात्रा दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र दुई लाख ३६ हजार चार सय छन्। यीमध्ये सामुदायिक विद्यालयबाट तीन लाख ४० हजार एक सय ९६ र निजीबाट एक लाख ३४ हजार आठ सय सहभागी छन्।