यतिबेला कर्णाली प्रदेशका स्थानीय तह, विद्यालय र क्याम्पसमा कानुन सिक्ने र सिकाउने काम भइरहेको छ । मुलुकमा लागू भएका विभिन्न कानुन जनस्तरसम्म जानकारी दिएर तिनको कार्यान्वयनमा सहयोग पुर्याउन कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कानुनी सचेतना कार्यक्रम अघि बढाएको छ ।
मन्त्रालयले कानुनी बहस, छलफल, संवाद, अन्तर्क्रिया र प्रशिक्षणका माध्यमबाट कानुनी सचेतना दिन थालेको हो । २०७५ भदौ १ देखि मुलुकमा लागु भएको फौजदारी देवानी संहिताबारे जनस्तरमा सन्देश प्रवाह गरिँदै आएको छ । समाजमा आपराधिक घटना घट्न नदिन र नागरिकलाई विधिको शासनको प्रत्याभूति गराउन कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयका कानून उप–सचिव विनोदकुमार गौतमले जानकारी दिए ।
“मुलुकमा बनेका कानुनको पालना गरी सुशासन र सदाचारयुक्त समाज निर्माण गर्नु कार्यक्रमको मूल उद्देश्य हो । यसलाई मुख्य आधार बनाएर अघि बढेका छौँ,” उनले भने । मूलतः कानुन के हो, यो कसरी निर्माण हुन्छ र यसलाई लागु गर्ने विधि प्रक्रिया के हुन् भन्नेबारे जानकारी दिन कार्यक्रम अघि सारिएको हो ।
मन्त्रालयका कानुन अधिकृत तुलसा गैरेले चालु आवभित्रै कर्णाली प्रदेशका ७९ स्थानीय तहमा पुगेर सञ्चालन हुने कार्यक्रमबाट नागरिक तहसम्म सही सन्देश पठाउने लक्ष्य राखिएको बताइन् । मुलुकमा लागु भएका कानुन र निर्माण हुने कानुनबारे नागरिकलाई थाहा नभएर विभिन्न आपराधिक घटनाको भागेदारी बन्नुपर्ने समस्यामा समाधान दिन कार्यक्रम गरिएको उनले बताइन् । “कार्यक्रममा कानुनको परिभाषा, त्यसको अर्थ, औचित्य, महत्व, अनिवार्यता र पालनाका बारेमा शिक्षा दिएका छौँ”, उनले भनिन्, “यसका लागि विद्यालय क्षेत्रलाई लक्षित गरेका छौँ ।” उपप्रमुख/उपाध्यक्षसहितका स्थानीय तहका पदाधिकारीसँग कानुन तर्जुमाका विषयमा छलफल गरिएको उनको भनाइ छ ।
छाउपडी, बहुविवाह, दाइजो प्रथालगायत सामाजिक विकृति र त्यसविरुद्धको कानुनी सजायका बारेमा पनि विद्यार्थी, शिक्षक, अभिभावक र पदाधिकारीलाई जानकारी गराइएको छ । जनज्योति मावि नेवारेका शिक्षक करण भण्डारीले लागुऔषध र बालविवाहले व्यक्तिको शारीरिक, मानसिक, सामाजिक पक्ष र मुलुक विकासमा पर्ने प्रभावका सवालमा स्पष्ट जानकारी पाएको बताए ।
यस्तै श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राममा कक्षा ९ मा अध्ययनरत छात्रा जीवनबिमा सिंहले लागुऔषध, बालविवाह, छाउपडी र दाइजो प्रथाले समाजमा पारेको नकारात्मक प्रभावबारे प्रष्ट हुने अवसर मिलेको बताए ।
कार्यक्रममा नैतिक शिक्षा, अनुशासन, सिर्जनशील एवम श्रमशील बन्न उत्प्रेरित गराइएको मन्त्रालयले जनाएको छ । कानुनी सचेतनामूलक कार्यक्रमबाट हालसम्म एक हजार २०० भन्दा बढी व्यक्ति प्रत्यक्ष रुपमा लाभाविन्त भएको बताइएको छ । -रासस