हुम्लाको खार्पुनाथ गाउँपालिका २ मा रहेको शङ्कर आधारभूत विद्यालयमा ४ विषयको पठनपाठन ठप्प भएको छ । गएको चैतदेखि शिक्षक उपस्थित नहुँदा पठनपाठन नभएपछि विद्यार्थीले तालाबन्दी गरेका हुन् ।
खार्पुनाथ गाउँपालिकाले खटाएको शिक्षक र स्थायी शिक्षकसमेत विद्यालयमा नियमित उपस्थित नभएपछि विद्यार्थी अभिभावकले बिहीबार विद्यालय तालाबन्दी गरेको शङ्कर आधारभूत विद्यालय कक्षा ८ मा अध्ययनरत विष्णुदेवी रावलले जानकारी दिइन् ।
उनका अनुसार नयाँ शैक्षिक सत्र सुरु भएको एक महिनापछि विद्यालयमा नैतिक, सामाजिक गणित, विज्ञान, विषयको पठनपाठन भएको छैन ।
विद्यालयका प्रधानाध्यापक बिर्खबहादुर छत्यालले विद्यालयमा गाउँपालिकाले शिक्षक खटाए पनि काजमा गएका कारण र विद्यालयमा शिक्षक नभएकाले पठनपाठनमा केही समस्या आएको बताए । -रासस