राजधानीमा ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयमा दुईदिने सम्मेलन आयोजना गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनको राष्ट्रपति विद्या भण्डारीले आइतबार उदघाटन गरेकी छन् ।
शीतल निवासमा आयोजित उदघाटन कार्यक्रममा विभिन्न मुलुकका शिक्षाविदहरूको उपस्थिति छ । कार्यक्रमको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताएकी छन् । उनले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै नवीनतम् खोज र ज्ञानको भण्डारका रुपमा विश्वविद्यालय शिक्षा परिवर्तित हुनुपर्नेमा जोड दिइन् ।
विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँले विश्वविद्यालयको इतिहासमा यो सम्मेलन नयाँ कोसेढुङ्गा साबित हुने बताए । परिवर्तित सन्दर्भमा उच्चशिक्षालाई अन्तर्राष्ट्रियस्तरको बनाउन आफूहरुले नीतिगत सुधार गरेको उनको दाबी थियो ।
विश्वविद्यालय अनुदान आयोग अध्यक्ष भीमप्रसाद सुवेदी अनुसन्धानमुखी र गुणस्तरीय उच्च शिक्षाका लागि आयोगले सघाउँदै आएको बताए । शिक्षाध्यक्ष सुधा त्रिपाठीले उपयुक्त पाठ्यक्रम, अनुसन्धान र व्यवस्थापनको संयोजनले मात्रै विश्वविद्यालय शिक्षा गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरको हुने बताइन् । सम्मेलनमा नेपालसहित विभिन्न ७ मुलुकका विज्ञको कार्यपत्र प्रस्तुत हुनेछ ।