काँधमा झोला, घाँटीमा विद्यार्थी परिचयपत्र, विद्यालय पोसाक रहेका एक हुल विद्यार्थी शनिबार मध्याह्न भारतीय गाउँ बेलापरसुवाबाट नेपाली बस्ती छिरे। कैलारी गाउँपालिका–७, हौसलपुरका ती विद्यार्थी गाउँनजिकैको भारतीय विद्यालयमा पढेर घर फर्कँदै थिए। विकट बस्ती हौसलपुरमा विद्यालय छैन। गाउँमा विद्यालय नभएपछि नेपाली बालबालिकाहरू बेलापरसुवामा रहेको विद्यालय सरस्वती शिशु मन्दिरमा पढ्न जान्छन्। र, विद्यालयमा हरेक दिन भारतको राष्ट्रिय गीत गाउँछन्– जन, गण, मन अधिनायक जय हे, भारत भाग्य विधाता...।’
भारतमा निर्भर रहेको यो बस्तीका बालबालिकाले नेपालको राष्ट्रिय गीत ‘सयाैँ थुँगा फूलका हामी, एउटै माला नेपाली...’ गाउन त के, सुनेका पनि छैनन्। ‘नेपालको आउँदैन, भारतको राष्ट्रिय गान कण्ठ छ।’ सरस्वती शिशु मन्दिरमा कक्षा आठमा अध्ययनरत विमला चौधरीले हिन्दीमै भनिन्, ‘नेपालको राष्ट्रिय गीत कहिल्यै गाएकै छैन, कहाँबाट आउनु ?’
कक्षा ७ मा अध्ययनरत निलम चौधरीले आफू नेपाली बोल्न र बुझ्न नसक्ने उनले बताइन्। विद्यालयमा हिन्दी भाषामा पढाइ हुने गरेको उनले बताइन्।
हौसलपुर र बेलापरसुवा गाउँसँगै जोडिएका छन्। पठन–पाठन, औषधिउपचार, किनमेललगायत काममा पञ्चायतकालदेखि नै भारतीय गाउँमा निर्भर हौसलपुरका बालबालिका मात्र होइन, बूढापाका पनि नेपाली बोल्न र बुझ्न सक्दैनन्।
गाउँ तथा नजिक पायक पर्ने स्थानमा नेपाली विद्यालय नहुँदा भारतीय विद्यालयमा बालबालिका पढाउनुपर्ने बाध्यता रहेको अभिभावकको भनाइ छ। स्थानीय सोहनलाल चौधरीले छोराछोरीलाई भारतीय विद्यालयमा पढाउनु आफूहरूको बाध्यता भएको बताए।‘हौसलपुरमा विद्यालय छैन, पारी (हौसलपुरवारि रहेको नेपाली बस्ती रामपुर)को विद्यालय टाढा पर्छ, वर्षायाममा नदी तर्न सकिँदैन।’ चौधरीले भने, ‘भारतीय विद्यालय पढाउनु रहर होइन, बाध्यता हो।’ आफ्नी छोरी र भाइलाई भारतीय विद्यालयमा पढाइरहेको उनले सुनाए। नयाँ पत्रिकामा खबर छ।