सीए अर्थात् चार्टर्ड एकाउन्ट बन्ने धोको लिएर भारतमा पढिरहेका नेपाली विद्यार्थीको सङ्ख्या अझै पनि हजारौँ छ । तीमध्ये अधिकांश राजधानी दिल्लीस्थित लक्ष्मीनगर र आसपासको क्षेत्रमा बस्छन् र पढ्छन् ।
तर नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) को २ वर्षअघिको निर्णयपछि त्यहाँ जाने क्रम कम भएको बताइन्छ । त्यसको कारण हो गत वर्ष असार ३२ गतेसम्म भारतको आइसीएआईमा पढ्न दर्ता भएकालाई मात्र मान्यता दिने आईक्यानको झन्डै २ वर्षअघिको निर्णय । त्यसपछि त्यहाँ दर्ता भएकालाई उसले मान्यता दिँदैन ।
बहुमतको आधारमा आईक्यानले 'भारतले आफ्ना सीएलाई मान्यता नदिएकाले एकतर्फी मान्यता नदिने अन्तर्राष्ट्रिय प्रचलन पछ्याएको' जनाएको छ ।
अन्योल र निराशा
२०७२ साउन १ सम्म सीएको परीक्षामा सहभागी नभएका विद्यार्थीले नेपालमा आएर थप १ वर्ष प्रयोगात्मक तालिम (आर्टिकसिप) गर्नुपर्ने प्रावधान पनि रहेको आईक्यानले जनाएको छ ।
आईक्यानले मान्यता नदिए पनि त्यसले नेपाल आएर स्वतन्त्र रूपमा काम गर्न चाहनेलाई फरक नपर्ने धारणा पनि कतिपयको पाइन्छ ।
तर, दिल्लीको लक्ष्मीनगरमा भेटिएका सीए अध्ययनरत केही विद्यार्थीमा उत्साहसँगै आईक्यानको निर्णयका कारण केही अन्योल र निराशा पनि पाइएको बीबीसीले उल्लेख गरेको छ । प्रस्तुत छ- सीए अध्ययनपछिको उनीहरूको आकाङ्क्षा, आईक्यानको निर्णयले उनीहरूमा देखिएको आशङ्का र सम्भावित अवसरबारे उनीहरूको धारणा ।
'निरुत्साहित तुल्याउने नियम'
आयुश्मा अर्याल, बुटवल
एउटा सीएले कर, कानुन, लेखा परीक्षण, स्टक बजार, वाणिज्य हरेक कुरामा दक्षता हासिल गरिसकेको हुन्छ । त्यसैले समृद्ध नेपाल बनाउने यात्रामा सीएलाई पनि अवसर हुन्छ । त्यसको खोजी पनि हामीले पनि गर्नुपर्छ । किनभने विकास सीएबिना सम्भव छैन ।
हामीले समेत नेपाल गएर त्यहाँ कर (प्रत्यक्ष-अप्रत्यक्ष) र कानुनको परीक्षा दिनुपर्छ । यहाँ तीन वर्ष आर्टिकलशिप गरेर फेरि एक वर्ष नेपालमा पनि गर्नुपर्छ । पहिले ब्याङ्क र उद्योगहरूमा पनि आर्टिकलसिप गर्न पाइन्थ्यो । तर आईक्यानले अब सीए फर्ममा मात्रै गर्नुपर्ने निर्णय गरेको छ ।
विश्वकै ठूलामध्येको लेखापरीक्षण संस्थामा पढेकालाई यस्ता निरुत्साहित तुल्याउने नियम र निर्णयका कारण देशका निम्ति देशमै केही गर्ने सोच भएका हाम्रो उत्साहमा ठेस पुगेको छ । भोलि लाखौँ पारिश्रमिक पाउँदा विदेश किन नजाने भन्ने प्रश्न जन्मिँदोरहेछ ।
नेपालले अहिले रेमिट्यान्स भित्र्याउने उद्देश्यले वैदेशिक रोजगारीलाई प्रोत्साहन गर्न द्विपक्षीय सम्झौतालाई प्राथमिकता दिएको देखिन्छ । तर, अर्थतन्त्रबारे ज्ञान हासिल गरी देशमै केही गर्न चाहने हामी सीए विद्यार्थीलाई नै फर्किन नदिने वातावरण बनाइँदै छ । त्यो हाम्रो मात्र नभएर देशकै सरोकारको विषय बन्नुपर्छ ।
'राम्रोभन्दा पनि हाम्रो'
निर्जा बाहेती, काठमाडौं
अहिले नेपालबाट पढ्न आउने क्रम घटेको छ । यहीँ ३ वर्ष गरिसकेको आर्टिकलसिप नेपालमा फेरि गर्नुपर्ने भएपछि त्यसो भएको हो । त्यसमाथि नेपालमा 'राम्रो भन्दा पनि हाम्रो'लाई अवसर दिने चलन छ ।
अर्को कुरा सीए र एमबीए गरेका २ जना छन् भने सकेसम्म एमबीएबाटै काम लिन खोजिन्छ । त्यो कुरा त तलबले पनि निर्धारण गरेको हुनसक्छ । तर सीए र सीएबीच पनि आफ्नो मान्छे हेर्ने गरेको पाइन्छ ।
कतिपय ठूला कम्पनीले पनि सीएलाई भन्दा पनि कम पारिश्रमिक दिएर पुग्ने भएकाले रजिस्टर्ड अडिटर (आरए) लाई छानेको पाइन्छ ।
'राष्ट्र निर्माणमा सीए सँगसँगै'
वसन्ती देवकोटा, जुम्ला
सीए जागिरे मात्र हुनुपर्छ भन्ने होइन । नेपालभित्र मात्र नभई विश्वबजारमा समेत व्यापारका साथै थुप्रै क्षेत्रमा रोजगारदाता समेत बन्ने अवसर छ ।
त्यससँग सम्बन्धित विभिन्न ८ क्षेत्रमा सीएले विज्ञ हासिल गरेको हुन्छ । त्यसैले एउटा क्षेत्रमा सीए सीमित हुनु पर्दैन । यदि सरकारले अब्बल सीएहरूलाई साझेदार बनाएर सरकारले काम गर्न सक्यो देशको कुल गार्हस्थ्य उत्पादन वृद्धिमा पनि त्यसले टेवा पुर्याउँछ ।
भारतको अर्थतन्त्र तीव्र रूपमा बढ्दो छ । यहाँको सीए भइसकेपछि विश्वका धेरै ठाउँमा मान्यता पाइन्छ । विश्वबजारका काम गर्न पाउँदा विविध क्षेत्रमा नयाँ र व्यापक अनुभव लिन पाउँछौँ ।
त्यो अनुभव नेपालमा कार्यान्वयन गर्न सक्थ्यौँ । तर त्यो कुरामा अङ्कुश लगाउन खोज्दा देश विकासमा कुनै न कुनै रूपमा घाटा पर्छ ।
सरकारले राष्ट्र निर्माणमा सीएलाई सँगसँगै लगे अहिले असङ्गठित क्षेत्रलाई सङ्गठित बनाउँदै तिनको योगदान बढाउन सकिन्छ ।
तर आईक्यानबाट केही निर्णयले त्यसलाई निरुत्साहित तुल्याउने देख्छु । त्यसतर्फ सरकारको ध्यान दिँदै सीएको निम्ति अनुकूल वातावरण बनाउनुपर्छ ।