अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्नेतको नाममा जिल्ला सहकारी संघमा बक्यौता देखिएको छ।
संघका पूर्व व्यवस्थापक रहेका बस्नेतसँग ३ हजार १ सय ७३ रुपैयाँ पाउनुपर्ने हिसाब भन्दै लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ। साझा संस्थाको रूपमा स्थापना भएको जिल्ला सहकारी संघमा सहकारी इन्स्पेक्टर पदका सरकारी कर्मचारीले नै संघको व्यवस्थापन र प्रशासन चलाउने गर्थे।
‘सहकारी इन्स्पेक्टरको रूपमा बस्नेत संघमा कार्यरत हुनुहुन्थ्यो,’ संघका पूर्व अध्यक्ष कुलचन्द्र अधिकारीले भने, ‘अनियमितता गरेको पैसा हैन होला, केही गर्दा उहाँको नाममा रकम बाँकी रहेको हुन सक्छ।’ संघका पूर्वअध्यक्ष सोमप्रसाद हुमागाईंले बस्नेतको घर ठेगाना नखुलेकोले बक्यौता उठाउनका लागि पत्र लेख्न नसकिएको बताए। ‘उहाँको घर ठेगाना नै पत्ता लागेन। सोही कारण पत्र पठाउन सकिएन,’ हुमागार्इंले भने, ‘ती सबै बेरुजु भएका पैसा हुन्, मेरो कार्यकालमा पहल गर्दा केही रकम उठेको पनि थियो, बाँकी पैसा उठाउन सकिएन।’
संघका पूर्वअध्यक्ष अधिकारीको नाममा पनि ६९ सय रकम बक्यौता छ। राष्ट्रिय सहकारी बैंक लेखा समितिका पूर्व संयोजकसमेत रहेका अधिकारीले के आधारमा बक्यौता रहेको जानकारी नभएको बताए। ‘सहकारी संघ काभ्रेको लागि ठूलो योगदान गरेको छु, के आधारमा बक्यौता रह्यो थाहा भएन,’ अधिकारीले दाबी गरे, ‘सहकारी संघले बरु हामीलाई दिनुपर्नेछ, तालिम, गोष्ठीका धेरै पैसा सहकारी संघलाई छोडेको छु।’
जिल्ला सहकारी संघको पछिल्लो लेखा परीक्षण समावेश भएको वार्षिक प्रगति प्रतिवेदनमा १५ लाख १८ हजार २ सय ८८ रुपैयाँ ‘विभिन्न पार्टीसँग पाउनुपर्ने हिसाब’ उल्लेख छ। कुनै समय मल, बीउ, दाना, खाद्यान, पेट्रोलियम पदार्थसमेतको कारोबार गर्दै आएको संघका पूर्व कर्मचारी, सरकारी कार्यालय, संस्थान र बिक्रेताहरूसँग पैसा उठाउन बाँकी रहेको छ।
प्रतिवेदनअनुसार, कृषि सामग्री संस्थानको अञ्चल कार्यालयले ३३ हजार ९ सय ८८, कृषि विकास बैंकले २३ हजार ४ सय ७१, नेपाल दूरसञ्चार संस्थानले ५५ सय, जिल्ला प्रशासन कार्यालयले ५ हजार, नेपाल खाद्य संस्थान अञ्चल कार्यालयको ४ हजार १६, नेपाल आयल निगमले २ हजार र नेसनल ट्रेडिङ लिमिटेडले १ हजार रुपैयाँ तिर्न बाँकी भएको प्रतिवेदनमा उल्लेख छ। कान्तिपुरमा खबर छ।