संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेका प्रश्नप्रति सरकार र मन्त्रालय गम्भीर रहेको बताएका छन्।
प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले समग्रतामा सबै विधि र प्रक्रिया पूरा गरेर जहाज खरीद गरेको देखिए पनि कुन-कुरा ठीक थियो, कुन कमजोरी रह्यो भन्नेबारेमा छानविन र अध्ययन भइरहेको जानकारी दिए ।
उनले भने, “कहीँ कुनै अनियमिता, कमजोरी भएको छ भने सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएर कारवाही गर्नेछ, अध्ययन र छानविन भइरहेको छ, आवश्यकता परेमा उच्चस्तरीय छानविन समिति गठन गरिनेछ, निगमलाई राम्रो गराउने सन्दर्भमा कुन बाटो हिँड्दा उपयुक्त हुन्छ सरकार समितिसग परामर्श गरेर अघि बढ्न तयार छ ।”
पछिल्लो समय तोक आदेशमा निगमका जहाजको टिकट किनबेच हुने प्रवृत्ति हटाइएको, बजार व्यवस्थानमा सुधार ल्याउन कोशिस भइरहेको बताए ।
हवाई उडान सम्बन्धमा ३९ देशसँग सम्झौता भए तापनि युरोपियन युनियनले नेपालको जहाज उडानमा कालो सूचीमा राखेका कारण कतिपय मुलुकमा उडान प्रभावित हुँदै आएको उनले बताए । युरोपियन युनियनलगायतको प्रतिबन्ध हटाउन कूटनीतिकलगायतका माध्यमबाट प्रयास भइरहेकाले आगामी चैत वैशाखसम्ममा हट्ने विश्वास व्यक्त गरे ।