जंगली जनावरले बर्खेबाली नष्ट गर्न थालेपछि बैतडीका किसानहरु चिन्तित बनेका छन्। जंगली बदेंल र दुम्सीले बैतडीका विभिन्न ठाउँमा बर्खेबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन्।
जिल्लाको शिवनाथ, मेलौली, दोगडाकेदार, सिगास सुर्नया गाउँपालिका, दशरथचन्द नगरपालिका लगायतका क्षेत्रका किसानले लगाएको मकैबाली तथा बर्खेबाली जंगली जनावरले नष्ट गर्न थालेका छन्। सिगास गाउँपालिका–५ को टोल कफटुडामा बर्खेबाली मकै दुम्सीले सखाप पारेको स्थानीय भानबहादुर बोहराले जानकारी दिए।
मकैको घोका लाग्ने लागेको बेला जंगली जनावरले मकैबाली नष्ट गर्न थालेपछि किसान चिन्तामा परेको उनको भनाइ छ। बदेंल र दुम्सीले लगातार केही दिनदेखि मकैबाली नष्ट गर्न थालेपछि कसरी नियन्त्रण गर्ने भनेर किसानलाई पिरोलेको छ। रातिको समयमा पहरा दिएपनि मकैबाली जोगाउन मुस्किल भएको सुर्नया गाउँपालिका–६ का भवानीदत्त अवस्थीले बताए। रातभरी वर्षाको समयमा मकै बारीमा बास बसे पनि मकैबाली जोगाउन नसकिएको सुर्नया गाउँपालिका–४ का कालु चन्दले बताए।
जिल्लाका सबैजसो क्षेत्रमा मकैबाली जंगली जनावरले नष्ट गर्न थालेको किसानहरुले बताएका छन्। मुख्य खाद्यबालीको रुपमा रहेको मकै लगातार जंगली जनावरले नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन्। बैतडीमा १४ हजार ९ सय हेक्टर क्षेत्रफल जमीनमा मकैखेती गरिँदै आएको छ।