घरजग्गा तथा शेयरलगायतका क्षेत्रमा आएको मन्दीसँगै वाणिज्य बैंकको आँखा ऊर्जातर्फको लगानीमा पर्न थालेको छ। अघिल्ला वर्षसम्म घरजग्गा, गाडी, सेयरलगायतका अनुत्पादक क्षेत्रमा लगानी गर्दै आएका बैंक पछिल्लो समय ऊर्जातर्फ आकर्षित भएका हुन्।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार सञ्चालनमा रहेका २८ वाणिज्य बैंकले ऊर्जामा एक महिनामै ७७ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन्। राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा लगानी हुने कर्जामा कडाइ गर्नुका साथै उत्पादनशील क्षेत्रमा गरिने लगानीलाई अनिवार्य गरेपछि ऊर्जा क्षेत्रको लगानी बढेको हो।
राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार राष्ट्र बैंकले ऊर्जामा लगानी अनिवार्य गरेकाले आकर्षण बढेको हो।
‘राष्ट्र बैंककै नीतिअनुसार पछिल्लो समय बैंकहरू स्वतःस्फुर्त रूपमा ऊर्जा क्षेत्रमा लगानी गर्न आकर्षित भएका हुन्,’ प्रवक्ता पौडेलले भने।
चालू आर्थिक वर्षको भदौ (दोस्रो) महिनामा वाणिज्य बैंकले ७७ अर्ब २१ करोड ९६ लाख २० हजार रुपैयाँ ऊर्जा क्षेत्रमा लगानी गरेका छन्। चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा ७४ अर्ब ३८ करोड ४९ लाख ७० हजार रुपैयाँ लगानी भएको छ। चालू आर्थिक वर्षको पहिलो महिना साउनको तुलनामा भदौमा २ अर्ब ८३ करोड ४६ लाख रुपैयाँले ऊर्जा क्षेत्रको लगानी बढेको छ।
हाल सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरूमध्ये नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) ले ऊर्जा क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको छ। यस बैंकले सो क्षेत्रमा ८ अर्ब ६ करोड ५९ लाख १० हजार रुपैयाँ लगानी गरेको छ। यो तथ्यांक भदौको हो।
यस बैंकले गत असारमा ७ अर्ब ९० करोड २२ लाख ३० हजार रुपैयाँ ऊर्जा क्षेत्रमा लगानी गरेको थियो। यस्तै, यस क्षेत्रमा सबैभन्दा कम लगानी कृषि विकास बैंकले गरेको छ। यस बैंकको लगानी ऊर्जा क्षेत्रमा ३३ करोड ४२ लाख २० हजार रुपैयाँ लगानी गरेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने ऊर्जा क्षेत्रमा लगानी नगरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। राजधानी दैनिकमा खबर छ।