अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्था सुधारका लागि बजेट केन्द्रीत रहेको दावी गरेका छन्।
आर्थिक पत्रकार समाज सेजनले बुधबार काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा अर्थमन्त्री महतले बजेटमा समावेश नीतिहरुले मुलुकको आर्थिक अवस्था सुधारका लागि भूमिका खेल्ने बताए। उनले प्रशासनिक खर्च न्युनिकरणका लागि बजेटमार्फत इमान्दार प्रयास भएको जिकिर गरे।
पूँजीगत खर्चको प्रभावकारिता बढाउन थाले बैदेशिक सहयोग परिचालन हुने र थप सहयोग आउने ढोकाहरु खोलिने उनको भनाई थियो। अर्थमन्त्री महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा सांसदले खर्च गर्न नपाउने तर सांसदले सिफारिस गरेको आधारमा संघले बजेट दिने जानकारी दिए। उनले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधानलाई प्रोत्साहन गर्ने नीति सरकारको नभएको भन्दै बिद्युतीय सवारी साधानलाई प्रोत्साहन गर्ने नीति रहेको स्पष्ट पारे।
त्यस्तै , उनले सेयरमा लगानी गरेकाहरु आयकरको दायरामा नपर्ने भन्दै कोही पनि लगानीकर्ता आत्तिनु पर्ने कारण नरहेको बताए।