निजी क्षेत्रको छाता संस्थामध्येका एक नेपाल उद्योग वाणिज्य महासङ्घमा यतिबेला चुनावी चहलपहल चलिरहेको छ । मुलुकको अर्थतन्त्र समस्यामा रहेको र त्यसबाट सबैभन्दा बढी निजी क्षेत्र प्रभावित भइरहेको सन्दर्भमा महासङ्घमा हुने निर्वाचनलाई विशेषरुपमा हेरिएको छ ।
यतिबेला वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने नेतृत्व नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औँ वार्षिक साधारणसभाले तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चुन्दैछ । चैत २८ र २९ गते हुने साधारणसभा तथा निर्वाचनका लागि महासङ्घले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसकेको छ ।
वरिष्ठ उपाध्यक्ष स्वतःअध्यक्ष हुने महासङ्घको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल महासङ्घको अध्यक्ष बन्दै हुनुहुन्छ भने बाँकी पदमा निर्वाचन हुनेछ । जसमा वरिष्ठ उपाध्यक्षमा त्रिपक्षीय प्रतिष्पर्धा हुने निश्चित जस्तै देखिएको छ । वरिष्ठ उपाध्यक्षमा महासङ्घका एसोसिएट उपाध्यक्ष रामचन्द्र सङ्घई, वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्।
रामचन्द्र सङ्घई हाल महासङ्घमा एसोसिएट उपाध्यक्ष र अञ्जन श्रेष्ठ वस्तुगत उपाध्यक्ष छन् । उमेशलाल श्रेष्ठ भने यसअघिको निर्वाचनमा वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठसँग पराजित भएका थिए ।
सङ्घई प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ छन् भने । साथै अञ्जन श्रेष्ठ प्यानलमा वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार हुुनुहुन्छ । उमेशलाल श्रेष्ठको प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल उम्मेदवार रहेका छन् ।
एसोशिएटतर्फको अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलको संयुक्त उम्मेदवारमा उपाध्यक्षमा भरतराज आचार्य छन् । महासङ्घ कार्यकारिणी समितिमा प्रत्येक प्रदेशबाट एक /एक जना सदस्य निर्वाचित हुनेछन् । जसका लागि कोशी प्रदेश सदस्यका लागि टङ्कप्रसाद दुलाल, नरेन्द्रकुमार खड्का र तारानाथ घिमिरेले उम्मेदवारी दिएका छन् ।
मधेस प्रदेश सदस्यका लागि विजयकुमार साह र अरुणकुमार प्रधानको उम्मेदवारी छ भने बागमती प्रदेश सदस्यका लागि कृष्णप्रसाद अवाल र सविन श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
गण्डकी प्रदेशबाट जीवनज्योति श्रेष्ठ र युवराज राजभण्डारीको उम्मेदवारी परेको छ भने लुम्बिनी प्रदेशबाट जम्शेर मियाँको एकल उम्मेदवारी परेको छ । त्यस्तै कर्णाली प्रदेशबाट लालिमान बुढा, धनबहादुर रावत क्षेत्री र कुलबहादुर विश्वकर्मा तथा सुदूरपश्चिम प्रदेशबाट रामबहादुर भण्डारी र जङ्गबहादुर मल्लको उम्मेदवारी छ ।
संस्थापक सदस्य समूहतर्फ भीष्मप्रसाद न्यौपाने र टीकाराज ढकालको उम्मेदवारी छ । उनीहरुमध्ये एक जना निर्वाचित हुने छन् । वस्तुगत सङ्घतर्फको सदस्यमा १४ जनाका लागि २८ जनाको उम्मेदवारी परेको छ । जिल्ला नगर सङ्घ सदस्यमा १८ जनाका लागि ३२ जनाको उम्मेदवारी परेको छ भने एशोसिएट सदस्यतर्फ १९ जना सदस्यका लागि ३० जनाको उम्मेदवारी परेको छ ।
द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घ सदस्यतर्फ सुनिल केसीको एकल उम्मेदवारी परेको छ । शनिबार बसेको महासङ्घकोे बैठकले नेपाल प्रज्ञा–प्रतिष्ठानलाई मतदान केन्द्र तोकेको छ । चैत २९ गते बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्मको समय तोकिएको छ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ । त्यसैले कुनै उम्मेदवार पहिलो चरणमा निर्वाचित हुन नसकेका दोस्रो चरणका लागि चैत ३० गते बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म फेरि मतदान हुनेछ ।