नेपाल धितोपत्र बोर्डले एलिट क्यापिटल लिमिटेडलाई मर्चेन्ट बैंकरको लाईसेन्स प्रदान गरेको छ।
पुँजी बजारका सकृय लगानीकर्ताहरु र गैरआवासीय नेपालीहरुको लगानीमा गतबर्ष स्थापित यस संस्थाले कान्छो मर्चेन्ट बैंकरको रुपमा लाइसेन्स प्राप्त गरेको धितोपत्र बोर्डले जनाएको छ।
बोर्डका अध्यक्ष डा. रमेश कुमार हमालले बुधवार एक समारोहका बीच मर्चेन्ट बैंकर अनुमतिपत्रको प्रमाणपत्र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यलाई हस्तान्तरण गरे। आगामी साता औपचारिक उद्घाटन गरी कारोवार शुरु गर्ने क्यापिटलले जनाएको छ।
एलिट क्यापिटलको कार्यालय लाजिम्पाट उत्तरढोकास्थित मेट्रो पार्कमा छ। सोही स्थानबाट व्यक्तिगत तथा संस्थागत लगानी व्यवस्थापन, कर्पोरेट एडभाईजरी, धितोपत्र प्रत्याभूति (अण्डरराईटिङ) र डिपी सेवा समेत दिने क्यापिटलले जनाएको छ।
रु. २२ करोड ५० लाख पुँजी रहेको क्यापिटलले थप प्रक्रिया पूरा गरेर निकट भविष्यमै प्राईभेट ईक्विटी तथा भेन्चर क्यापिटल र म्यूचुअल फण्डको समेत व्यवस्थापन गर्ने योजना रहेको अध्यक्ष आचार्यले जानकारी दिए। व्यवसायीक व्यक्ति तथा संस्थाहरुको लगानी र दक्ष व्यवस्थापनमार्फत कारोवार शुरु गरेको एलिट क्यापिटलले आकर्षक स्किमहरु ल्याउने जनाएको छ।
हाल संचालनमा रहेका ३९ वटा मर्चेन्ट बैंकरहरुमध्ये यो पछिल्लोपटक स्थापना भएको मर्चेन्ट बैंकर हो । बोर्डले लामो समयदेखि मर्चेन्ट बैंकरको लाईसेन्स दिएको थिएन। संचालनमा रहेका मर्चेन्ट बैंकरहरुमध्ये झण्डै एक दर्जन क्यापिटल मर्जर वा खारेजीमा गैसकेका वा जाने क्रममा छ।