स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट तिहारको अवधिमामात्रै रु आठ लाख बढीको सयपत्रीको फूलमाला बिक्री भएको छ । गाउँपालिकाले १५ रोपनी र स्थानीय किसान तथा समूहले ३५ रोपनीमा उत्पादन गरेको सयपत्री फूलका थुङ्गा तथा माला बिक्रीबाट गाउँपालिका र स्थानीय समूह तथा कृषकले आम्दानी लिन सफल भएका हुन् ।
तिहारलाई लक्षित गरी उत्पादन गरिएको फूल गाउँपालिकाले प्रतिकिलो रु दुई सय ५० र कृषक तथा समूहले प्रतिकिलो रु तीन सयका दरले बिक्री गरेको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए । “किसान तथा समूहले फूलका थुङ्गाका अलावा मालासमेत बनाएर बिक्री गरे”, उनले भने, “तिहारको अवधिमा किसान तथा समूहद्वारा प्रतिमाला रु ८० देखि रु एक सयका दरले बिक्री भयो ।”
यहाँ उत्पादन भएको फूल तथा माला स्थानीय बजारमै अत्यधिक खपत भएको थियो । स्थानीय बजारसँगै बुटवल, पोखरा, काठमाडौँ, दाङ, नवलपुरलगायत ठाउँमा समेत माला खपत भएको पौडेलले बताए । तिहारको अवधिमा सयपत्री फूलको माग विगतका वर्षका तुलनामा यसपाली बढेको थियो । व्यापारीले यहीँ आएर फूल खरिद गरेर लगेका थिए ।
“फूल पहिलो चरणको बिक्री भएर सकियो”, उनले भने, “दोस्रो चरणमा अहिले फेरि फूल उत्पादन भइसकेको छ, यो फूल विवाह, व्रतबन्धलगायतमा बिक्री गर्छौँ । साउनमा लगाइएको बोटबाट चैतसम्म उत्पादन लिन सकिन्छ ।” फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिई आर्थिकलाभ लिने उद्देश्यसहित गाउँपालिकाले गत वर्ष आफँैले फूलखेती गरेको थियो । यस वर्ष किसानलाई ५० प्रतिशत अनुदान दिएर फूलखेतीतर्फ आकर्षित गरेको हो । गाउँपालिकाले वडा नं ४ को बिर्घा पुछारमा करिब १५ रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्नका लागि नर्सरी स्थापना गरेको थियो ।