काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख रुपियाँको बजेट विनियोजन गरेको छ । शुक्रबार महानगरपालिले आर्थिक वर्ष २०७९/०८० को लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार अनुमानित बजेट प्रस्तुत गरेकाे हो ।
आगामी आर्थिक वर्षको बजेट विनियोजनबारे जानकारी गराउँदै महानगरपालिकाकी उपप्रमुख सुनीता डङ्गोलले बजेटअन्तर्गत महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार, सामाजिक सुरक्षा भत्तालगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी, स्थानीय सञ्चित कोष बाहेकको बजेटमा समावेश हुने कुल ३ अर्ब पाँच करोड एक लाख ४७ हजार गरी कुल आगामी आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपियाँको बजेट ल्याएको जानकारी दिइन् ।
उनले स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि ५० करोड २१ लाख २४ हजार कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि चार अर्ब ६८ करोड ९८ लाख ६० हजार र पूर्वाधार विकास क्षेत्रका लागि ११ अर्ब आठ करोड ८९ लाख तीन हजार बजेट विनियोजन गरिएको बताइन् ।
उपप्रमुख डङ्गोलले सामाजिक विकास क्षेत्रका लागि एक अर्ब ६२ करोड २८ लाख २२ हजार सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि चार अर्ब ४६ करोड ५८ लाख ४० हजार बजेट विनियोजन गरेको बताइन् ।उनले नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ एक अर्ब ३१ करोड ३७ लाख छ हजारको स्राेत सुनिश्चित भएको पनि जानकारी दिइन् ।
चालु आर्थिक वर्ष २०७८/०७९ मा महानगरले कुल १६ अर्ब २६ करोड २६ हजार रुपियाँको बजेट विनियोजन गरेको थियो ।