नेपाल विद्युत प्राधिकरणले भारतबाट ३८ रुपियाँ युनिटमा विद्युत खरिद गर्ने भएको छ ।प्राधिकरणले २९ रुपियाँ प्रतियुनिट नोक्सान बेहोरेर भारतबाट विद्युत खरिद गर्न लागेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरी विद्युत मूल्य भने महङ्गो पर्न गएपनि उपभोक्तालाई भने विद्युत नौ रुपियाँ युनिटमै बिक्री गर्ने बताए ।
बिहीबार राति १२ः१५ बजेदेखि लागू हुने गरी खरिद गर्न लागिएको हो ।प्राधिकरणले अझै ढेड महिना भारतबाट विद्युत आयात गर्नुपर्ने जनाएको छ ।
युक्रेन र रसियाको द्वन्द्वका कारण कोइला अभाव हुँदा विश्वभर विद्युत उत्पादनमा कमि आएको र यसको असर भारतमा पनि परेकाले विद्युत उत्पादन कमि भएपछि नेपालले विद्युत महङ्गोमा खरिद गर्न बाध्य हुनु परेको घिसिङले बताए ।
हाल नेपालमा १६५० मेगावाट विद्युत माग रहेको छ भने २४ घण्टाको पिकिङ उत्पादन भने १४ सय मेगावाट रहेको प्राधिकरणले जनाएको छ । गत वर्ष ८०० मेगावाट विद्युत भारतबाट आयात गर्नुपरेको थियो भने यस वर्ष ३५० मेगावाट मात्र आयात गर्दै आएको जनाएको छ ।
जेठ अन्तिमदेखि भने नेपालको कूल उत्पादन दुई हजार मेगावाटसम्म पुग्ने भएकाले भारतलाई पाँच सय मेगावाटसम्म विद्युत बिक्री गर्ने लक्ष्य प्राधिकरणले राखेको छ ।हाल प्राधिकरणले १२ हजार आवर विद्युत भारतबाट आयात गर्दै आएको छ ।