रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकाे मूल्य वृद्धि भएको छ । जसको असर नेपालको औद्योगिक उत्पादनदेखि बजारसम्मका अत्यावश्यक वस्तुको मूल्यमा पर्ने चिन्ता सुरु भएको छ ।
रुसले युक्रेनमा आफ्ना सेनाकाे उपस्थिति बढाएर मुख्य शहरमा आक्रमण तीव्र पारेसँगै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर पुगेको छ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सन् २०१४ यताकै उच्च हो ।
रुसले युक्रेनका शहरमा आक्रमण बढाएसँगै कच्चा तेलको मूल्य महँगिएको हो । विश्वमा धेरै तेल निर्यात गर्ने मुलुकमा रुस तेस्रो स्थानमा पर्छ भने धेरै ग्यास निर्यात गर्नेमा दोस्रो ठूलो मुलुक हो ।
विश्वमा १० प्रतिशत तेलको आपूर्ति रुसले नै धानिरहेको छ । रुसले ठूलो परिमाणको तेल हातहतियार उत्पादनका लागि भण्डारण गरेको आरोप अमेरिका, बेलायत, क्यानडा लगायतका मुलुकहरुले लगाउँदै आएका छन् । यद्यपी रुसबाट आपूर्ति हुने ग्यास र तेलमा कुनै बाधा नपुऱ्याउने यी मुलुकहरुले बताउँदै आएका छन् ।कच्चा तेलको मूल्य बढेसँगै नेपालमा समेत असर परिसकेको छ ।