सिभिल सहकारी ठगी प्रकरणमा पूर्वसांसद इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ ८२ पैसा बिगो दाबीसहित मुद्दा दर्ता भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकीलको कार्यालयले शुक्रबार अदालतमा मुद्दा दर्ता गरेको हो । सिभिल सहकारीको ठगीविरुद्ध १ हजार ५ सय ३ जना पीडितले प्रहरीमा जाहेरी दिएका थिए।
यो प्रकरणमा हालसम्म १२ जना पक्राउ परेका छन् भने २९ जना फरार रहेको अभियोजन–पत्रमा उल्लेख छ। एकजनाको भने मृत्यु भइसकेको छ । सिभिल सहकारीको सञ्चालक समितिका सदस्य गोपाल बहादुर श्रेष्ठको दुई वर्षपहिला मृत्यु भएको थियो।
सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङ, वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ, सञ्चालक समितिका सदस्य हरिहर प्रसाद लामिछाने, कर्जा अधिकृत बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुव केतन ढुंगाना, जुनियर सहायक प्रबन्धक एलिना तुलाधर, जुनियर सहायक प्रबन्धक मायोनानी महर्जन, लेखा अधिकृत राकेश महर्जन, जुनियर अधिकृत शंकरप्रसाद पाठक, लेखा सहायक संगीत श्रेष्ठ, सिभिल होम्सका व्यवस्थापक विजयविक्रम शाही र सहजकर्ता भगवानबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ। अन्य २९ जना फरार छन्।